'नेपालमा काेराेनाकाे पहिलाे केस देखिएकाे ५ महिना पुगिसक्दा पनि क्वरेण्टीनकाे अवस्था उस्तै छ'

 असार १६, २०७७ मंगलबार १९:५६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सांसदहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाे लागि सरकारले कार्यप्रणालीमा सुधार गर्न नसकेको बताएका छन् । 

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मङ्गलबारको बैठकमा सांसदहरुले नेपालमा कोरोना सङ्क्रमणको पहिलो केस देखिएपछि अहिलेसम्म आउँदा काम गर्ने तरिकामा कुनै परिवर्तन ल्याउन नसकेको बताएका हुन् । पाँच महिनामा कुनै पनि विषयको समस्या समाधान हुने गरी काम हुन नसकेको सांसदहरुले बताएका हुन् ।

क्वरेण्टीन, आइसोलेशन सेन्टर, अस्पतालको गुणस्तरीय सेवा, ल्याबहरुको क्षमता बढाउनेलगायका काममा कुनै प्रगति हुन नसकेको सांसदहरुले बताए । सांसदहरुले सरकार अझै पनि खरिद प्रक्रियामा अल्झदै बसेको भन्दै त्यसलाई सुधार गर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले स्वास्थ्य सामग्रीको खरिद, सङ्कलन र वितरणकाे लागि छुट्टै केन्द्र बनाउनुपर्ने बताउनुभयो । उहाँले सांसदहरुले आपूर्ति व्यवस्थापन महाशाखाबाट झगडा गरेर स्वास्थ्य सामग्री माग्ने र आफूले चाहेको ठाउँमा लगेर बाँड्ने र फोटो खिच्ने प्रवृत्तिले स्वास्थ्य सामग्रीको वितरणमा विकृति आएको बताउनुभयो । उहाँले सरकारका निकायहरु स्वास्थ्य उपचारको गुणस्तर बढाउने भन्दा पनि क्वरेण्टीन बनाउने, राहत वितरण गर्ने, खाना खुवाउने काममा लाग्दा अहिलेसम्म पनि कुनै सुधार नदेखिएको बताउनुभयो ।

सांसद जीवनराम श्रेष्ठले नेपालमा पहिलो केस देखिएको पाँच महिना पुग्दासमेत कुनै समस्याको प्रभावकारी समाधान गर्न नसकिएको बताउनुभयो । सरकार खरिद प्रक्रियामा अल्झने र पालिकाले मापदण्ड विपरीत क्वरेण्टीन तथा आइसोलेशन सेन्टर बनाउने कुरामा मात्रै केन्द्रित हुँदा समस्या जस्ताको त्यस्तै रहेको उहाँले बताउनुभयो ।

सांसद हितबहादुर तमाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सङ्घीय सरकार र प्रदेश सरकारबीच अझै पनि समन्वय हुन नसकेको बताउनुभयो । यस्तै पालिकाबीच क्वरेण्टीन र आइसोलेशन सेन्टर खोल्ने प्रतिस्पर्धाले पनि गुणस्तरीय हुन नसकेको उहाँले बताउनुभयो ।

सांसद विद्या भट्टराईले कोभिड–१९ काे कारण हुने स्वास्थ्य समस्याभन्दा नयाँ खालको समस्या उत्पन्न भएको बताउनुभयो । कोभिडलाई स्वास्थ्यको डाइमेन्सनबाट मात्र नभएर सोसिओपोलिटिकल र इकोनोमिक डाइमेन्सनबाट पनि हेर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले कोरोनाका सङ्क्रमितभन्दा पनि अन्य दीर्घराेगी र सुत्केरी तथा गर्भवती महिलाले उपचार नपाउने अवस्था आउँदा अझ बढी समस्या देखिएको बताउनुभयो । यस्तै लामो समय भइसक्दा पनि क्वरेण्टीनकाे गुणस्तरमा सुधार गर्न नसकेको उहाँले बताउनुभयो ।

सांसद अन्जना विशंखेले कोरोना भाइरसकाे कारण समाजमा नयाँ समस्या देखिँदै गएकोले अबको समस्या के हो भन्ने कुरालाई फरक ढङ्गले सोच्नुपर्ने बताउनुभयो । उहाँले कोभिडलाई सामाजिक हिसाबले जोडेर त्यसबाट आएका समस्या समाधानका लागि काम गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले सरकारले गरेका कामहरुको समीक्षा गर्दै लामो समय भइसक्दा पनि काम गर्ने तरिकामा सुधार गर्न नसकेको बताए । अहिले कोरोनाको कारणले भन्दा पनि अन्य रोगका कारण समस्या देखापरेको र यो अवस्थामा सरकारको ध्यान कोरोनामा मात्रै केन्द्रित भएको भन्दै सबै पक्षलाई हेरेर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया