नेपालमा कोरोना परीक्षण विकसित देशकै अनुपातमा भइरहेको छ : मन्त्रालय

 असार १७, २०७७ बुधबार १७:४१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ : सरकारले नेपालमा कोरोनाको परीक्षणको दायरा विकसित देशमा भन्दा राम्रो रहेको जनाएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा पीसीआर विधिमार्फत हुने कोरोनाको जाँच संख्या विकसित देशमा जस्तै राम्रो रहेको बताउनुभो ।

 सार्कका देशको जनसंख्या र जाँचसँग तुलना गर्दा अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतमाभन्दा नेपालमा धेरैजनामा कोरोनाको जाँच भएको उहाँको भनाइ छ । नेपालमा २३ वटा प्रयोगशालाबाट कोरोनाको परीक्षण हुँदै आएकोमा छिट्टै थप १० वटा प्रयोगशाला थपेर ३३ वटा प्रयोगशालामा कोरोनाको परीक्षण हुने मन्त्रालयले जनाएको छ । 

नेपालमा अहिले दैनिक १० हजार जनाको परीक्षण भइरहेको पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो । सबै प्रदेशमा प्रयोगशाला स्थापना भएकोले बिरामीको पहुँचमा प्रयोगशाला विस्तार भएको पनि मन्त्रालयले जनाएको छ ।

 स्वास्थ्यकर्मीलाई पीपीईलगायत सबै सुरक्षाका सामान पर्याप्त मात्रा दिइएको, तालिम दिइएको र पालिकाहरुम समेत संयन्त्र परिचालन गरेर संक्रमितको व्यापक खोजी भइरहेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

अहिलेसम्म कोरोनासँग सम्बन्धित ३२ वटा निर्देशिका, कार्यविधि, मापदण्ड लगायतका कानुनी व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।यस्तै नेपालमा कोरोनाको मृत्युदर अमेरिका, बेलायत, जापान र चीन भन्दा कम रहेको पनि प्रवक्ता गौतमले बताउनुभयो । 

सार्क देशमा प्रत्येक दश लाखमा हुने मृत्युदरमा बंगलादेश, भारत, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानभन्दा नेपाल पछाडी रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया