यातायात सञ्चालनकाे लागि छुट्टै नीति ल्याउन माग

 असार १८, २०७७ बिहिबार १७:४२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले यातायात क्षेत्रकाे लागि छुट्टै नीति ल्याउनु पर्ने माग गरेका छन् । 

बैठकको शून्य समयमा बोल्दै सांसदहरुले निजी र सार्वजनिक यातायातकाे लागि छुट्टै नीति ल्याउनुपर्ने माग गरेका हुन् । साथै उनीहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सांसद रामनारायण बिडारीले यातायात क्षेत्रमा नेपालीहरुको खरबाैँ लगानी भए पनि यसलाई हेर्ने छुट्टै मन्त्रालय नभएको बताउनुभयो । यात्रुवाहक, मालवाहकलगायत विभिन्न प्रकारका यातायातका साधन सञ्चालनमा रहे पनि यसका लागि छुट्टै नीति नभएको उहाँले बताउनुभयो । 

निजीले पनि सार्वजनिक गाडीको काम गरिरहेको उल्लेख गर्दै उहाँले यातायात व्यवसायीहरुलाई १० प्रतिशत पुनर्कर्जा र ढृुवानीमा भ्याट छुट दिएर टीडीएस मात्रै लाग्ने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । 

सांसद विमला राई पौडेलले अति विशिष्ट व्यक्तिहरुका लागि राम्रो सुरक्षा प्रबन्ध गर्ने चलन रहे पनि पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 

अहिलेको सङ्कटको समयमा अति विशिष्ट व्यक्ति भनेका स्वास्थ्यकर्मी भए पनि उनीहरुमाथि आक्रमण भइरहेको बताउनुभयो । स्वास्थ्यकर्मी नै सुरक्षित नभए आम नागरिक कसरी सुरक्षित हुन्छन् भन्दै उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सांसद शान्तिकुमारी अधिकारीले असारे विकासले विनाश निम्त्याएको बताउनुभयो । जेठ १५ मा बजेट सार्वजनिक भएर असारमा पास हुने भए पनि पुसमा मात्रै सम्झौता गर्न सुरु हुने परम्परा तोड्नुपर्ने बताउनुभयो ।

साउन र भदौ महिनामा कर्मचारीहरु पालैपालो बिदामा बस्ने हुँदा काममा ढिलाइ भइरहेको उहाँले बताउनुभयो । सम्बन्धित मन्त्रालयहरुले अख्तियारी चाँडो दिएर कात्तिकभित्र काम सुरु गरी जेठ मसान्तमा काम सक्नुपर्ने नीति बनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

सांसद शेरबहादुर कुँवरले अस्तव्यस्त क्वरेण्टीनको कारण कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । सङ्कलन भएका स्वाबको पीसीआर परीक्षणका लागि महिनौँ दिनसम्म कुर्नुपर्ने अवस्थाले समुदायस्तरमा कोरोना फैलिने डर भएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया