‘असारे विकास सधैँका लागि अन्त्य होस्’

 असार १८, २०७७ बिहिबार १९:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सभाका सांसदले असारे विकासलाई सधैँका निम्ति अन्त्य गर्ने गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

सभाको बिहीबारकाे बैठकको शून्य समयमा बाेल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की शान्तिकुमारी अधिकारीले वर्षायाममा गरिएको काम विकास नभइ विनाश हुने बताउँदै असारे विकासलाई सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, 'नेपालमा जेठ १५ गते बजेट सार्वजनिक गरी असार महिनाभित्र बजेट पास गरिन्छ, साउन र भदौ महिनामा पालैपालो घर बिदामा बस्ने हुँदा कर्मचारीका अभावमा कार्यालयमा काम ढिलासुस्ती हुन्छ, मन्त्रालयले अख्तियारी ढिला दिने कारणले पालिकामा सम्झौता पुस महिनादेखि सुरु भइ चैत महिनाभित्र सम्झौता गरेर सकिन्छ, असार महिनामा विकासका काम द्रुत गतिमा हुन्छ, अन्तिमका वर्षायाममा भएको काम मजबुत हुँदैन ।’

आर्थिक वर्षको अन्तिम महिना असारमा हतारमा काम गर्दा विकास कागजमा मात्र सम्पन्न गरी मिलेमतोमा बजेट सक्ने र वर्षायाममा गरिएको कामले गर्दा बाढी पहिरो आउने, धनजनको क्षति हुने र बस्ती उजाड हुने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘त्यसैले असारे विकासलाई सधैँका निम्ति अन्त्य गरिनुपर्छ, समयमै काम सक्ने नीति बनाउन आवश्यक छ ।’ 

नेकपाकै शेरबहादुर कुँवरले क्वरेण्टीनको अस्तव्यस्तताका कारण कोभिड–१९ को महामारी झन्झन् बढ्दै गएको बताउँदै अब कोरोना समुदायस्तरमा पुगेकाले समयमै सचेत हुन जरुरी छ भन्नुभयो । 

त्यही दलकी शारदादेवी भट्टले हत्या, हिंसा र भ्रष्टाचारलगायत देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामनारायण बिडारीले यातायात क्षेत्रमा १० प्रतिशत पुनर्कर्जा र ढुवानीमा भ्याट छुट गरेर टीडीएस मात्रै लागू गर्ने व्यवस्था गर्ने गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।  

उहाँले भन्नुभयो, 'यातायात क्षेत्रमा नेपालीको खरबाैँ लगानी छ, यसलाई हेर्ने छुट्टै मन्त्रालय छैन, त्यसैले यो क्षेत्र अस्तव्यस्त छ, बस, ट्रक, टिप्पर, मालवाहक यातायातको बेग्लाबेग्लै नीति चाहिन्छ, निजीले पनि सार्वजनिक भाडाका काम गरिरहेका छन्, कोभिड-१९ ले यी व्यवसायी थला परेका छन्, १० प्रतिशत पुनर्कर्जा र ढुवानीमा भ्याट छुट होस् ।’

सांसद डा. विमला पौडेलले कोभिड–१९ को महामारीका अवस्थामा ज्यानको बाजी राखेर काम गरिरहेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको बताउँदै उनीहरुको सुरक्षाको माग गर्नुभयो ।  

अन्तिम अपडेट: असार २०, २०७७

तपाईको प्रतिक्रिया