ओली र प्रचण्ड छलफलमा

 असार १९, २०७७ शुक्रबार १२:५०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पार्टीभित्रको विवाद समाधानको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष छलफलमा जुटेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको हो । आज एक दिन स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्षबीच कुराकानी गर्ने हिजोको निर्णय अनुसार दुई अध्यक्ष छलफलमा जुटेका हुन् । 

पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएपछि नेकपाका अरु नेताहरु पनि बिहानैदेखि छलफलमा छन् । दोस्रो तहका नेताहरुले जसरी पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् । 

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो । ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ । हिजोको बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभयो ।   

पार्टीमा देखिएको सङ्कट समाधान गर्ने उद्देश्यले स्थायी कमिटीको अर्को बैठक भोलि बस्ने र यसबीचमा अध्यक्षद्वय ओली र प्रचण्डका साथै सचिवालयका नेताहरूका बीचमा छलफल गरेर समाधानको उपाय खोजिने श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया