सलहले ५ जिल्लामा बढी असर

 असार २०, २०७७ शनिबार ८:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सलह कीराले अहिलेसम्म ११ सय १८ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा नोक्सानी गरेको छ । अहिलेसम्म ५ जिल्लाका ११ सय १८ हेक्टर क्षेत्रफलमा नोक्सानी पुगेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

सबैभन्दा धेरै दाङमा ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको मकै तथा तरकारी बालीमा सलहले नोक्सानी पुर्याएको छ  भने मकवानपुरमा १ सय ५ हेक्टर क्षेत्रफलमा लगाइएको मकै तथा तरकारी बालीमा सामान्यदेखि मध्यम खालको नोक्सानी पुरयाएको छ । 

प्युठानमा २ सय ८३ हेक्टर क्षेत्रफलमा लगाइएको मकै, फलफुल र भटमास खेतीमा सामान्यदेखि मध्यमखालको क्षति पुगेको केन्द्रले जनाएको छ । अर्घाखाँचीमा १ सय हेक्टरमा मकै तथा तरकारी बालीमा  क्षति पुगेको छ । अर्घाखाँचीमा भने अझै सलह कीरा सक्रिय छ ।

पाल्पामा पनि ५० हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा सामान्य क्षति गरेको छ । रोल्पा, सिन्धुली, रुपन्देही, कपिलवस्तुमा पनि नोक्सानी गरेको भए पनि कति हेक्टरमा लगाइएको बालीमनालीमा नोक्सानी गर्यो भन्ने केन्द्रले खुलाएको छैन । 

सलह कीरा अहिलेसम्म ५२ जिल्लामा छरिएको भए पनि ससाना भुण्डहरु भएकाले धेरै नोक्सानी हुन नपाएको केन्द्रले जनाएको छ । विभिन्न जिल्लामा फैलिएका सलह कीराको झुण्ड कतै केही हजार र कतै केही लाखको संख्यामा रहेकाले धेरै क्षति हुन नपाएको केन्द्रका किटविज्ञ रामकृष्ण सुवेदीले बताउनुभयो । भारतबाट ५ वटा झुण्डमा आएका सलह नेपालका विभिन्न ठाउँमा फैलिएका छन् ।

सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले भारतबाट अर्को सलहको झुण्ड नेपाल आउने सम्भावना टरेको बताउनुभएको छ । भारतको इटहवामा रहेको सलहको झुण्ड दक्षिणतर्फ मोडिएर मध्य प्रदेशतिर पुगेकाले नेपालमा आउने सम्भावना टरेको उहाँले बताउनुभयो ।

मनसुन तथा हावाको दिशामा नाटकीय परिवर्तन आएमा मात्र नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने उहाँको भनाई छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया