नेकपा फुट्याे भनेर कांग्रेस किन रमाउनु ? : रामचन्द्र पाैडेल

 असार २०, २०७७ शनिबार १८:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने स्पष्ट पार्नुभएकाे छ । 

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वाग्मती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा नेता पाैडेलले विश्वमा कम्युनिस्टहरु हल्ला मच्याउने समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने पुष्टि भइसकेको स्मरण गर्दै नेपालमा पनि कम्युनिस्टहरुले यो कुरालाई पुष्टि गरेको बताउनुभयाे । 

पौडेलले कम्युनिस्टहरु देशका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउँदै अहिले कम्युनिस्टहरुले पाएको दुई तिहाइकाे जनमत देशका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशङ्का व्यक्त गर्नुभयाे । पाैडेलले दुई तिहाइ बहुमत देशकाे समस्या समाधान गर्नकाे लागि सहयोगी हुनुपर्नेमा समस्या बन्ने हो कि भन्ने आम नागरिकमा शङ्का उत्पन्न भएको बताए । पौडेलले देशमा सङ्कट परेकाे बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिस्टहरुको वैज्ञानिक समाजवाद हो भनी प्रश्नसमेत गर्नुभयाे । 

विश्वका पुँजीवादी देश र कम्युनिस्ट देश पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पुँजीवाद र साम्यवादले नभइ प्रजातान्त्रिक समाजवादले समाधान गर्ने पौडेलको भनाइ थियो । पौडेलले गान्धीवाद समाजवाद नभए पनि गान्धीवादमा आधारित समाजवादले विश्वलाई जोगाउने तर्क गर्नुभयाे । पौडेलले पुँजीवादीहरु राज्यका सबै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिस्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सिर्जना गरेकाेले समस्या देखिएको बताउनुभयाे । 

पौडेलले नेपाली कांग्रेसले जोड घटाउ गरे, सत्ता प्राप्तिको राजनीति छोडेर, सिद्धान्त र आदर्शकाे राजनीति अवलम्बन गर्नुपर्ने बताउनुभयाे । उहाँले अरुको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्नु दुर्भाग्यपूर्ण हुने बताउनुभयाे । पौडेलले कम्युनिस्टहरु विभाजन भएर सत्ता प्राप्ति गर्ने र कांग्रेसले देशलाई समाधान दिन नसक्ने भन्दै देशका सबै समस्या समाधान गर्ने मिसनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेको जनाउनुभयाे । उहाँले कांग्रेसको १४ औँ महाधिवेशन त्यो मिसनका लागि भिजन भएको कांग्रेस बनाउने बताउनुभयाे ।   

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया