मेलम्चीको पानी सुरुङभित्र पठाइयो

 असार २१, २०७७ आइतबार १८:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मेलम्चीको पानी सुरुङभित्र पठाउन सुरु गरिएको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि विस्तृत परीक्षणकाे लागि आजदेखि पानी पठाइएको हो । आज बिहान ९ः ४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङ मार्गमा पानी प्रवाह सुरु गरिएको हो । 

दुई दशक लामो प्रतिक्षालाई समाप्त पार्दै सुरुङ मार्ग परीक्षण थालनीसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेश खत्रीले बताउनुभयो । 

परीक्षणकाे लागि सुरुमा प्रतिसेकेण्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पानी प्रवाहको प्राविधिक व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले २६ किलोमिटरको सुरुङ भर्न २० दिनसम्म समय लाग्ने बताउनुभयो ।

पूर्णरुपमा भरिएको सुरुङ १० दिनसम्म यथास्थितिमा राखिने छ । पानी भरिएकै दरमा खाली गर्न पुनः २० दिनको समय लाग्ने पनि उहाँले बताउनुभयो । सुरुङ खाली भएपछि सुरुङको अवस्थाको परीक्षण गर्न सात दिन लाग्ने छ । 

त्यसमा कुनै समस्या देखिएमा सात दिनभित्र काम सम्पन्न गरिने उहाँले बताउनुभयो । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले परीक्षणसँगै मेलम्ची आयोजनाकाे विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताउनुभयो । 

मेलम्ची आयोजना निर्माणकाे क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयोजनाको काम सम्पन्न गरेर आजबाट पथान्तरणको काम सुरु भयो । आवश्यक टेस्टिङ प्रक्रिया सकेर उद्घाटनको मिति तय गर्ने छौँ । मिति तय गरेर छिट्टै घर घरमा पानी पुर्‍याउने छौँ ।’

निर्माण कम्पनीसँग गरिएको सम्झौताको म्याद पुस मसान्तसम्म रहेको छ । निर्माण काम निर्धारित समयभन्दा पहिले नै सकिने विश्वास लिइएको छ । अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सोमबार सुरुङमार्गतर्फ पानी पठाइँदैछ । सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया