नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित

 असार २२, २०७७ सोमबार १०:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक पर्सि बुधबारसम्मका लागि स्थगित भएको हो ।

पार्टीभित्र बढ्दै गएको विवाद समाधानको लागि शीर्ष नेताहरु छलफलमै रहेकाले बैठक स्थगित भएको नेकपाले जनाएको छ । 

यसअघि अस्ति शनिबार बस्ने भनिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । त्यसअघि बिहीबार बसेको बैठक सहमति खोज्नकै लागि भनेर शनिबार बस्ने गरी स्थगित गरिएको थियो । 

नेकपाभित्रको विवाद मिलाउन आज पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ । हिजो पनि दुई अध्यक्षबीच छलफल भएको थियो । छलफल टुंगोमा नपुगे पनि सकारात्मक बन्दै गएको नेताहरुको भनाई छ । 

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिनुभएको छ भने अर्का अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छोड्न सुझाव दिनुभएको छ ।

दुई अध्यक्षबीचको तनाव कम गरेर साझा धारणा बनाउन भन्दै विष्णु पौडेल, शंकर पोख्रेल, जनार्दन शर्मा र वर्षामान पुन सम्मिलित ४ सदस्यीय अनौपचारिक कार्यदल गठन भएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया