उपभोक्ता समितिले थाल्याे रातो मच्छिन्द्रनाथ मन्दिरकाे पुनर्निर्माण

 असार २२, २०७७ सोमबार १८:५१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत सुरु भएको छ । 

असार २० गते क्षमा पूजा गरी साेमबारदेखि काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार आज मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुङ्गाका खम्बाहरु एकत्रित गर्ने कार्य गरिएको छ । 

उपभोक्ता समितिले सिकर्मी एवं अन्य निर्माणकर्मीहरुसँग छलफल पनि गरेको छ । 

मन्दिर पुनर्निर्माणकाे लागि असार १५ गते ललितपुर महानगरपालिकाले सिफारिस गरेको शाक्य नेतृत्वको उपभोक्ता समितिसँग पुरातत्व विभागले सम्झौता गरी पेस्की रकम उपलब्ध गराइएको पुरातत्व विभागका सीडीई सम्पत घिमिरेले जानकारी दिनुभयो ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको प्राविधिक रेखदेख गर्नेछ । 

उपभोक्ता समिति र पुरातत्व विभागबीच भएको सम्झौताअनुसार समितिले एक वर्ष २०७८ असार १५ गतेभित्र तीन करोड आठ लाख रुपैयाँमा मन्दिरको पुनर्निर्माण गर्नेछ । सम्झौतापछि उपभोक्ता समितिले ४० लाख रुपैयाँ पेस्की लगेको छ ।

यसअघि श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाए पनि पूर्वयोजनाअनुसार काम अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझावअनुसार ठेक्का तोडी उपभोक्ता समितिमार्फत गर्न लागिएको हो ।

मन्दिर पुनर्निर्माणको अनुगमनकाे लागि प्राधिकरणका कार्यकारी समिति सदस्यको नेतृत्वमा ललितपुर महानगरपलिका एवं सम्बन्धित वडाका प्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि, बुङ्गमती क्षेत्र पुनर्निर्माण तथा विकास समितिका प्रतिनिधि, परामर्शदाता र विज्ञ सम्मिलित एउटा समिति पनि गठन गरिएको छ ।

पुस १४ गते सिंहदरबारमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको जनप्रतिनिधिहसहितको बैठकले मन्दिरको बाँकी कामको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने निर्णय गरेको थियो ।

उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माण गर्दा सकारात्मक परिणाम आएका छन् । रानीपोखरीको पिँध र पानी रहने वरिपरिको पर्खालको पुनर्निर्माण सकेर त्यहाँको उपभोक्ता समितिले गएको हप्ता प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया