‘हावाबाट कोरोना भाइरस फैलने’ प्रमाणलाई विश्व स्वास्थ्य सङ्गठनले स्वीकार गर्‍याे

 असार २४, २०७७ बुधबार १३:७:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस सङ्क्रमण हावाबाट फैलन सक्ने प्रमाण जुट्दै गरेको मङ्गलबार स्वीकार गरेको छ । हावामा रहने एरोसोलकाे​ साना कणबाट काेराेना फैलिन सक्ने प्रमाण जुट्दै गरेकाे डब्ल्यूएचओले स्वीकार गरेकाे हाे । 

यसअघि विभिन्न देशका वैज्ञानिकहरुको एक समूहले खुला चिठी लेख्दै डब्ल्यूएचओलाई आफ्नो वर्तमान दिशानिर्देशमा सुधार गर्न अपिल गरेको थियो । 

डब्ल्यूएचओमा कोभिड–१९ महामारीसँग जोडिएको प्राविधिक लिड डाक्टर मारिया वा केरखोवले एक समाचार ब्रिफिङमा भने, ‘हामी हावाबाट कोरोनाको सङ्क्रमण फैलिने आशङ्कामाथि कुरा गरिरहेका छौँ ।’

यस सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनकी बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाको माध्यमबाट फैलिने प्रमाण जुट्दै गरेको तर अहिले नै यो पुष्टि भइसकेको भन्न नमिल्ने बताइन् ।

उनले भनिन्, ‘सार्वजनिक स्थान, खासगरी भिडभाड हुने क्षेत्र, कम हावा भएको र बन्द क्षेत्रमा हावाको माध्यमबाट भाइरस फैलिने कुरालाई नकार्न सकिँदैन । यद्यपि यी प्रमाणलाई एकत्र गर्न र सम्झनु आवश्यक छ । हामी यो कार्यलाई जारी राख्नेछौँ ।’

के अब धेरै कुरा बदलिनेछ ?

यसअघिसम्म विश्व स्वास्थ्य सङ्गठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्य रुपमा सङ्क्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सानो छिटाको माध्यमबाट फैलिने बताउँदै आएको थियो ।   

डब्ल्यूएचओले मानिस–मानिसबीच कम्तीमा ३ दशमलव ३ फिट दुरी भएमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्भव भएको बताएको थियो । तर अब हावाको माध्यमबाट कोरोना भाइरस फैलिने कुरा पुष्टि भएमा ३ दशमलव ३ फिटको शारीरिक दुरीको नियममा परिवर्तन गर्नुपर्ने हुन्छ । 

डब्ल्यूएचओले आउँदा दिनमा यस सम्बन्धमा एक बिफ्रिङ नै जारी गर्ने जान केरखोवले बताएका छन् । 

उनले भने, ‘भाइरसको प्रसार रोक्न ठूलो स्तरमा रोकथामको आवश्यकता छ । यसमा शारीरिक दुरी मात्र नभइ मास्कको प्रयोग र अन्य नियम पनि आउँछ ।’

क्लिनिकल इन्फेक्शियस डिजिज जर्नलमा सोमबार प्रकाशित एक खुला चिठीमा ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले ‘फ्लोटिङ भाइरस’ हावामा रहने र श्वास फेर्दा मानिसमा सङ्क्रमित गर्न सक्ने प्रमाण दिएका थिए । 

विश्व स्वास्थ्य सङ्गठनलाई लेखिएको खुला चिठीमा वैज्ञानिकहरुले कोरोना भाइरस सम्बन्धमा पुनः विचार गर्न र नयाँ दिशानिर्देश जारी गर्न अपिल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया