सार्वजनिक जग्गा संरक्षण गर्दै ३० बढी पार्क निर्माण गर्ने काठमाण्डाै महानगरपालिकाकाे याेजना

 असार २४, २०७७ बुधबार २०:२६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आफ्नाे क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण गर्दै खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवर्द्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ । 

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले यो आर्थिक वर्षको बजेटमा पार्क निर्माण, हरियाली प्रवर्द्धनलगायलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । ‘हरियाली प्रवर्द्धन गर्ने, शहरको सौन्दर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो’, शाक्यले भन्नुभयो, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्त्वपूर्ण स्थानको संरक्षण र संवर्धन गर्नेलगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ ।’ 

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीसभन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ । ती पार्क निर्माणकाे लागि मात्रै महानगरपालिकाले २७ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । 

काठमाण्डाै महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समावेश गरेका योजनामा महानगर ज्येष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, जेष्ठ नागरिक आश्रम, शहीद पार्क, चेसपार्क, महानगर बाजे–बज्यै पार्क, महिला मैत्री पार्कलगायत रहेका छन् । योजनाअनुसार महानगरपालिकाले वडा १५ मा शहीद पार्क निर्माणकाे लागि एक करोड, वडा ५ मा नरबुद्ध पार्कका लागि एक करोड ५० लाख, कुलेश्वर आवास क्षेत्रभित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख, वडा १४ को ज्ञानतीर्थमा पार्क निर्माणकाे लागि ४० लाख, वडा ११ को कुमारी मन्दिर नजिकै र धोबी खोला दोभानको सार्जजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख रुपैयाँ विनियोजन गरेको छ । 

त्यसैगरी महानगरपालिकाले वडा ८ को गुहेश्वरीपारी पार्क निर्माण गर्न २० लाख, वडा ७ को कालोपुल र भत्केको पुलको बीचमा आइल्याण्ड पार्क निर्माण गर्न ४० लाख, वडा ९ को कुमारी मन्दिर परिसरमा पार्क निर्माण गर्न २५ लाख, वडा ४ मा धुम्बाराही पार्क निर्माणकाे लागि एक करोड, वडा ४ कै शिवस्थली पार्क निर्माणकाे लागि लाग्ने ६ करोडमध्ये यस वर्षकाे लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । 

वडा १४ को खड्का गाउँमा पार्क निर्माणकाे लागि ३० लाख, बालाजु पार्क विकास तथा स्वमिङ पुल पुनर्निर्माणकाे लागि बहुवर्षीय योजनामा एक करोड, वडा १७ को धोबी चाैर परिसरमा निर्माण र गाहिती पुनर्निर्माणमा ३० लाख, रानीपोखरी क्षेत्र विस्तार कार्यकाे लागि एक करोड, वडा ३२ को बालकुमारीमा अमरावती पार्क निर्माणकाे लागि बहुवर्षीय योजनामा एक करोड, वडा ३२ कै तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणको लागि डीपीआर प्रतिवेदन तयार पार्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । त्याे ठाउँमा अहिले अल्पकालीन रुपमा हरियालीसहितको आइल्याण्ड निर्माण गरिएको छ । 

महानगरपालिकाले आफ्नो ड्रिम प्राेजेक्टकाे रुपमा अघि बढाएको मेगा हलमा पनि ६० प्रतिशत स्थानमा खुला स्थान र हरियाली प्रवर्द्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माण गर्ने भनिएको भृकुटी मण्डपमा अहिले झण्डै २८ प्रतिशत मात्रै खुला स्थान रहेको काठमाण्डाै महानगरपालिकाको शहरी योजना आयोगले जानकारी दिएको छ । 

महानगरपालिकाले दिएको जानकारीअनुसार विष्णुमती करिडोरमा पार्क निर्माणकाे लागि बहुवर्षीय योजनाअन्तर्गत दुई करोड, वडा–७ मा मैजुबहाल पार्क निर्माणकाे लागि ६२ लाख, वडा ३१ मा ज्येष्ठ नागरिक आश्रम तथा पार्क निर्माणकाे लागि बहुवर्षीय योजनामा दुई करोड, वडा ३२ को कोटेश्वर महादेवस्थानमा सार्वजनिक भवन र पार्क निर्माणकाे लागि ५० लाख, वाग्मती मनोहरा दोभानदेखि बालकुमारी पुल हुँदै मनोहरा, हनुमन्ते दोभानसम्म नदी किनारको जग्गा संरक्षण र पार्क निर्माणकाे लागि दुई करोड, कोटेश्वर महादेवस्थानको सिडी स्तरोन्नति र पार्क निर्माणकाे लागि ३० लाख रुपैयाँ विनियोजन गरेको पनि महानगरपालिकाले जानकारी दिएको छ । 

त्यस्तै वडा ३२ को जनमैत्री हरित उद्यान निर्माणकाे लागि बहुवर्षीय योजनाअन्तर्गत एक करोड, वडा २५ को महानगर ज्येष्ठ नागरिक पार्क निर्माणकाे लागि एक करोड, वडा ११ को थापाथलीमा सडक किनारा पार्क निर्माणकाे लागि ४० लाख, वडा ११ को चेसपार्क स्तरोन्ततिकाे लागि ३६ लाख, वडा ४ को महानगर बाजे–बज्यै पार्कको बहुवर्षीय योजनाकाे लागि तीन करोड रुपैयाँ विनियाेजन गरिएकाे छ । 

वडा नम्बर ३१ को प्रयागमार्ग पार्क निमार्णकाे लागि बहुवर्षीय योजनामा एक करोड, वडा १० मा स्ट्रिट फुड पार्क निर्माणकाे लागि २५ लाख, वडा १० को सानो गौचरण पार्क सुधारकाे लागि एक करोड, वडा नम्बर ३० को मैतिदेवी पार्क निर्माणकाे लागि ५० लाख, वडा ३१ को जागृति बाल उद्यान निर्माणकाे लागि ५० लाख, वडा ३२ को पुरानो टाउन प्लानिङ मनोहरा नदी किनारमा पार्क निर्माणकाे लागि ५० लाख, खुला योग तथा व्यायामशाला निर्माणकाे लागि ५० लाख, वडा ४ को विशालनगरमा पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ । 

महादेव खोला, बल्खु, करखुशी, सामाखुशी, विष्णुमती, वाग्मती नदी किनारको सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्द्धन र नदी नियन्त्रण कार्यकाे लागि पनि महानगरपालिकाले झण्डै सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यी स्थानहरुमा पार्क निर्माणकाे लागि विनियोजन गरेको बजेट नगर सभाबाट पारित भएको छ । केही नगर सभा सदस्यहरुले यी योजनाहरुमा केही रकम थप गर्नुपर्नेलगायतका माग राखेका थिए । मेयर शाक्यले पनि सिलिङमा तलमाथि नपर्ने गरी सकेसम्म नगर सभा सदस्यहरुका माग सम्बाेधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

चालु आर्थिक वर्षमा बने दर्जन बढी पार्क 

काठमाण्डाै महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा २३ वडामा शहीद धर्मभक्त माथेमा पार्क, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न गरेको छ । त्यसैगरी वडा ४ मा टुँडालदेवी पार्क, त्यस्तै टुसाल पार्क निर्माणको काम पनि महानगरपालिकाले सम्पन्न गरेको छ । 

विभिन्न वडामा मदन भण्डारी पार्क, वडा नम्बर ४ मा सुकेधारा कृष्ण गल्ली पार्क, वडा नम्बर ३ मा बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क निर्माणको पनि महानगरपालिकाले पहिलो चरणको काम सम्पन्न गरेको छ । 

दर्जन बढी पार्कको निर्माण सुरु 

महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मै न्ह्योखा पार्क, शान्ति नमुना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, वाग्मती नगर पार्क, कुमारी पार्क, रानीबारी पोर्पा अजिमा पार्क, वडा नम्बर २१ मा लगं पार्क, कमल पोखरी पार्कलगायतको निर्माण कार्य सुरु गरिसकेको छ । यी पार्क निर्माणका लागि झण्डै ३८ करोड रुपैयाँकाे बजेट व्यवस्था गरेको छ । वाग्मती नगर पार्क झण्डै सात करोडमा र लगं पार्क झण्डै ६ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेका छन् । 

कमलपोखरी गुरुयोजनाअन्तर्गत झण्डै सात करोड रुपैयाँको लगानीमा निर्माण कार्य भइरहेकाे महानगरपालिकाले जानकारी दिएको छ । 

महानगरपालिकाको सहयोगमा छिमेकी नगरमा पार्क बन्दै  

काठमाण्डाै महानगरपालिकाले छिमेकी नगरपालिकासँग पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत हरियाली प्रवर्द्धनमा जोड दिँदै आएको छ । काठमाण्डाै जिल्लाका १० वटा नगरपालिका तथा मध्यपुर थिमी नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण कार्य अघि बढाएको महानगरपालिकाले जानकारी दिएको छ । 

महानगरपालिकाले दिएको जानकारी अनुसार टोखा नगरपालिकामा बौडेश्वर बाल उद्यान, कीर्तिपुर नगरपालिकामा युद्ध स्मारक पार्क, बूढानीलकण्ठ नगरपालिकामा बूढानीलकण्ठ पार्क, तारकेश्वर नगरपालिकामा तारकेश्वरधाम ऐतिहासिक पार्क, नागार्जुन नगरपालिकामा गणेशमान स्मृति पार्क, चन्द्रागिरि नगरपालिकामा मदन भण्डारी पार्क, दक्षिणकाली नगरपालिकामा बहुउद्देश्यीय उद्यान बन्दै छन् । 

गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय शहीद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्क, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी धाम उद्यान, शङ्खरापुर नगरपालिकामा बज्रयोगिनी क्षेत्र हरित उद्यान र मध्यपुर थिमी नगरपालिकामा शङ्खधर शाख्वा स्मृति सामुदायिक पार्क निर्माण भइरहेका छन् । ती पार्कहरुमा महानगरपालिकाले प्रतिनगरपालिका एक करोडका दरले ११ करोड रुपैयाँ लगानी गरिसकेको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया