‘फिट टू फ्लाई’ को प्रमाण नहुँदा केही नेपाली कतारबाट उड्न पाएनन्, आवश्यक पर्नेले प्रमाण अनिवार्य राख्नुपर्ने

 असार २५, २०७७ बिहिबार १६:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारबाट नेपाल फर्कने नेपालीले साथमा ‘फिट टू फ्लाई’ को प्रमाणपत्र अनिवार्य रुपमा राख्नुपर्ने भएको छ ।

नेपाल फर्कनका लागि विमानस्थल पुगेकाहरू पनि ‘फिट टू फ्लाई’ को प्रमाणपत्र साथमा नहुँदा नेपाल फर्कन नपाएकाे भन्दै प्रमाणपत्र अनिवार्य साथमा राख्न कतारमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

कोरोनाको कारण उत्पन्न असहज परिस्थितका बेला सुत्केरी तथा गर्भवती महिला, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले नेपाल फर्कंदा साथमा अनिवार्य रुपमा ‘फिट टू फ्लाई’ सर्टिफिकेट राख्नु पर्छ । यी समस्यामा हुने यात्रुले आफूलाई स्वास्थ्य परीक्षण गर्ने डाक्टर वा स्वास्थ्य संस्थाबाट ‘फिट टू फ्लाई’ सर्टिफिकेट लिन सक्छन् ।

दूतावासमा फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराएका र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार विभिन्न समयमा नेपाल एअरलाईन्स र हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत कतारबाट नेपालीहरु स्वदेश आइरहेका छन् ।

तर यसरी फर्कन विमानस्थल पुगेका कतिपय ‘फिट टू फ्लाई’ सर्टिफिकेट नहुँदा उडान भर्न नसकेको जानकारी आएको दूतावासले जनाएको छ ।

साथै उडानको प्राथमिकताको सूचीमा नाम रहेका व्यक्तिले सम्बन्धित एअरलाइनसको आधिकारिक ट्राभल एजेन्सीमा टिकट काट्ने बेलामा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएर ‘फिट टू फ्लाई’ प्रमाणपत्र आवश्यक पर्ने, नपर्नेबारे जानकारी लिन सकिनेछ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया