मलेसियाबाट पहिलो चरणमा ३३ सय २२ नेपाली स्वदेश फर्किए, दोस्रो चरणको उडान तालिका सार्वजनिक

 असार २८, २०७७ आइतबार १६:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको कारण मलेसियामा समस्यामा परेका ३३ सय २२ जना नेपाली स्वदेश फर्किएका छन् ।

सरकारले विदेशमा समस्यमा परेका र स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्तीको प्रक्रिया सुरु गरेपछि २१ उडानमार्फत ३३ सय २२ जना फर्किएका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । पहिलो चरणमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने उडानहरु सकिएको पनि दूतावासले जनाएको छ ।

यो अवधिमा मलेसियाबाहेक इण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङ्कङ, भियतनाम, सिंगापुर, ताइवान र स्पेनमा रहेका नेपालीसमेत फर्किएका दूतावासले जनाएको छ । फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली आज हिमालय एयरलाइन्सको जहाजमार्फत स्वदेश आएका छन् ।

यो अवधिमा मलेसियाका विभिन्न जेल डिटिन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपालीसमेत स्वदेश फर्किएका छन् । मलेसियामा ३९ वटा शवसमेत नेपाल ल्याइएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्यहाँ ज्यान गुमाएका नेपालीको शवसमेत उतै रोकिएको थियो ।

सरकारले भोलि र पर्सि दुई दिन नेपालीको स्वदेश फिर्तीेका लागि हुने चार्टर्ड उडान रोक्ने भएको छ । जुलाई १५ देखि २१ सम्म फेरि स्वदेश फिर्तीका लागि चार्टर्ड उडानहरु हुनेछन् । २१ पछि भने नयाँ तरिकाले उडान गर्ने गरी छलफल भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मलेसियाबाट दोस्रो चरणमा तीन उडान तालिका तय भएको छ । जुलाई १९ मा हिमालय एअरलाइन्स, मलिण्डो एअर र नेपाल एअरलाइन्सका जहाजले क्लालाम्पुरबाट काठमाण्डौ उडान भर्नेछन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया