कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण सफल भएको रुसको दाबी ​

 असार २८, २०७७ आइतबार १७:५१:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रूसले काेराेना भाइरसविरुद्धकाे खाेपकाे क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । 

रूसले कोरोना भाइरसविरुद्धको खोपको मानिसमा गरिएको परीक्षण पनि सफल भएको बताएको छ । रुसको सेचेनोभ विश्वविद्यालयले कोरोना उपचारकाे लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

क्लिनिकल अध्ययनका लागि औषधि दिइएका स्वयंसेवकहरूको पहिलो समूहलाई आउँदाे बुधबार र अर्को समूहलाई जुलाई २० मा डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ । सेचेनोभ विश्वविद्यालयले विश्वमै पहिलो पटक कोरोना भाइरसविरूद्ध मानिसमा गरिएको परीक्षण सफल भएको दाबी पनि गरेको छ ।

विश्वविद्यालयले अब खाेपकाे उत्पादन बढाएर मानिसमा प्रयोग गर्न सकिने जनाएको छ । झण्डै आठ महिनाअघि चीनको वुहानमा देखिएको कोरोना भाइरसकाे विरुद्ध खोप बनाउनकाे लागि विश्वका विभिन्न समूह लागिपरेको भए पनि अझै सफलता प्राप्त भएको छैन ।

सेचेनाेभ विश्वविद्यालयमा इन्स्टिच्युट अफ् मेडिकल प्यारासिटाेलाेजी ट्रपिकल एण्ड भेक्टर बर्न डिजिजका निर्देशक अलेक्जेण्डर लुकाशेभका अनुसार याे पूरै अध्ययनकाे उद्देश्य मानव स्वास्थ्यकाे सुरक्षाकाे लागि काेभिड–१९ खाेप सफलतापूर्वक तयार गर्नु थियाे । मानिसकाे सुरक्षाकाे लागि याे खाेप चाँडै नै बजारमा उपलब्ध हुने उनले दाबी गरे । 

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाबाट एक करोड २८ लाख ७० हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये पाँच लाख ६८ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । ७५ लाखभन्दा धेरै उपचारपछि निको भएका छन् ।    

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया