यूएईमा बेरोजगार भएका राजु भन्नुहुन्छ : घरीघरी त भोकभोकै मरिन्छ कि जस्तो लाग्छ

 असार ३१, २०७७ बुधबार ७:३:४५

पार्वती विक/ मकवानपुर ।

काठमाण्डौ – नेपालमा जागिर अथवा भनेको जस्तो काम पाइएन भने धेरैको लक्ष्य हुन्छ, वैदेशिक रोजगारी ।

कम्तिमा पनि महिनाको २४, २५ हजार रुपैयाँ कमाउने आशामा वैदेशिक रोजगारीको बाटो पछ्याउँदै मलेसिया लगायत खाडीका देश जाने युवाहरुको जमात बाक्लो छ । 

यही आशा र विश्वास बोकेर परदेश जानुभएको थियो मकवानपुरको कैलाश गाउँपालिकाका राजु थिङ पनि । तर सबैलाई भनेजस्तै कहाँ हुन्छ र ! कहिले दलालले ठग्छन् कहिले समयले ठग्छ । राजुलाई भने समयले ठग्यो ।
गएको फ्रेब्रुअरी २३ मा यूएई पुग्नुभएको थियो राजु । तर काम गरेको एक महिना नबित्दै काम खोसियो ।

कोरोना महामारीका कारण कम्पनी बन्द भएपछि उहाँको कम्पनीको काम पनि बन्द भयो । काम बन्द भएपछि कम्पनीले १२ जना कामदारलाई निकालिदियो । त्यही समूहमा राजु पनि पर्नुभयो । 

साहूसँग ऋण मागेरै भए पनि भविष्यको सुन्दर सपना बोकेर वैदेशिक रोजगारीका लागि दुबई जानुभएका राजु चलिरहेको काम खोसिएपछि रुनु न हाँस्नुको अवस्थामा पुग्नुभयो । जीवनमा पहिले कहिल्यै नभोगेको पीडा राजुले आफ्नो सपनाको सुन्दर सहरमा गएर भोग्नुपर्यो । 

‘पैसा कमाउने भनेर यहाँ आयौँ, तर यहीँ आएर हामीलाई अनिकाल लाग्यो’, राजु पीडा सुनाउनुहुन्छ, ‘जीवनमा खान नपाएर भोकभोकै बस्नुपर्ने दिन पहिले कहिल्यै आएको थिएन ।’

नेपालीको साथ पाइयो, दूतावासले हेरेन 

कम्पनीले जागिरबाट हटाएपछि राजु लगायत सबै समस्यामा परे । पहिलो महिनाको काम गरेर पाएको तलब यताउता गर्नमै ठिक्क भयो । अर्को महिनाको तलब आएपछि घर पठाउनुपर्छ भन्ने सपना बुनेका थिए सबैले । तर अर्को महिना काम गर्नै पाएनन् । कम्पनीले काम नै दिएन ।

आफूसँग भएको पैसा सकिएपछि राजु निराश हुनुभयो । सहयोगको लागि कम्पनीसँग जति हारगुहार गरे पनि सुनेन । उल्टै अनेक खालका धम्की दिन थालेपछि उहाँहरु निरीह हुनुभयो ।

नेपाली दूतावासमा फोन गर्दा दूतावासले चासो नदिएको उहाँ गुनासो गर्नुहुन्छ । ‘हामी भोकले मर्न थालेका छौँ, हाम्रो उद्धार गरिदिनुहोस भन्दा हुन्छ हामी आउँछौ भनेर भन्नुहुन्छ, तर चार महिना भइसक्दा पनि दूतावासका मान्छे एक दिन पनि सहयोग गर्न आएको छैनन्’ आशै आशमा चार महिना बितेपछि राजु निराश हुनुभएको छ । 

नेपाली नागरिककै सेवाको लागि भनेर तोकिएको, आशा भरोशा भएकै ठाउँबाट पनि कुनै सहयोग नमिलेपछि निराशा झन् बढ्यो ।  सरकारी निकायले नै केही गरेन भने म्यानपावरले झन् के गथ्र्यो र ? म्यानपावरबाट पनि आशाको कुनै अंकुर टुसाएन ।

त्यसपछि मनमा बेचैनी छाउन थाल्यो । परदेशमा आएर कतै भोकभोकै मर्नुपर्ने त होइन भन्ने डरले पिरोल्न थाल्यो ।  ‘कति दिन त हामीले भोकभोकै बितायौ, अब मरिन्छ जस्तो लागिसकेको थियो’, राजु दुःख पोख्नुहुन्छ । तर त्यहाँ रहेका केही नेपाली घाउमा मलम लगाइदिन आए । उनीहरुले बेलाबखत दिने गरेको राहतले राजु लगायत सबैले दिन कटाइरहेका छन् । 

घर फर्किन कहिले पाइएला ?

घर छाडेर परदेश हिँडेको पाँच महिना भयो । तर पछिल्ला हरेक दिनले राजुलाई झस्काइरहन्छन् । घरको न्यास्रो, खाडीको गर्मीमा झन् वाफ बनेर आइदिन्छ । 

आफूजस्तै जागिर खोसिएका धेरै साथीहरु नेपाल फर्के पनि आफूहरु फर्किन नसकेकोमा उहाँलाई नेपाल फर्किन पाइँदैन कि भन्ने डरले पनि तर्साउँछ । न काम छ, न घर फर्कन हातमा पैसा । 

दूतावासको प्राथमिकतामा नाम परेका र साथमा पैसा हुनेहरु नेपाल फर्किए । तर राजु लगायत धेरै जोसँग पैसा त के कतैबाट राहत नपाए भोकै बस्नुपर्ने अवस्था छ, उनीहरुलाई भने अझै सरकार छ भन्ने महसुस भएको छैन । 
सरकारले उद्धारको नाममा गराएका उडानहरु राजु र उहाँका साथीका लागि आकाशको फल जस्तै भएका छन् ।

‘यहाँ खान बस्नको ठेगान छैन, त्यत्रो भाडा तिरेर जानु त सपनाको कुरा भयो’ राजु भन्नुहुन्छ, ‘के गोजीमा पैसा नहुनेले परदेशमै मर्नुपर्ने हो ?’
 

अन्तिम अपडेट: साउन १, २०७७

तपाईको प्रतिक्रिया