म राजनीति गर्न र फाेटाे झुण्ड्याउन महासङ्घकाे नेतृत्वमा आएकाे हाेइन : शेखर गाेल्छा

 असार ३१, २०७७ बुधबार १२:५९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्ड्याउन मात्र महासङ्घको नेतृत्वमा नआएको बताउनुभएको छ । 

महासङ्घको चुनावकाे लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफू राजनीति गर्न र फोटो झुण्ड्याउन नभइ काम गर्न महासङ्घको नेतृत्वमा आएको बताउनुभएको हो । गोल्छाले महासङ्घ आफ्नो पुर्खा, पूर्वअध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाेले त्यसलाई अझ बलियो बनाउन आफूले काम गर्ने प्रस्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘मेरो नीति स्पष्ट छ । यसको लागि मलाई टिम चाहिन्छ । साथीहरुलाई विनम्र अनुरोध गर्छु, राजनीति गर्नको लागि र फोटो झुण्ड्याउनको लागि म यहाँ आएको होइन । म केही काम गर्नको लागि आएको छु । यो सङ्गठन जसमा मेरो बाउबाजेको रगत पसिना छ, पूर्वअध्यक्षहरुको रगत पसिना छ, मेरो दाइहरुको रगत पसिना छ र सबै पदाधिकारीहरुको रगत पसिना छ । यो सङ्गठनलाई म अझ बलियो बनाउनको लागि आएको हो । फोटो झुण्ड्याउनकाे लागि आएको होइन है साथीहरु ।’

अहिले पनि केही व्यक्तिहरुले ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेनावनी दिइरहेकोले महासङ्घभित्र भइरहेको गतिविधिमा सचेत हुनुपर्ने अवस्था आएको गोल्छाले बताउनुभयो । उहाँले राम्रो काम गर्नकाे लागि बलियो टिम आवश्यक रहेकोले सबै मिलेर महासङ्घलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले कोभिड–१९ ले असर पारेको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो टिमलाई चुनौती रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयाे, ‘यस्तो समयमा म अध्यक्ष बन्दैछु । हाम्रो अर्थतन्त्रमा सायद योभन्दा ठूलो गम्भीर घडी पहिला कहिले पनि थिएन । हाम्रो अर्थतन्त्र यति कमजोर कहिले पनि थिएन । म अब देशको वाणिज्य महासङ्घ जुन नेपालको निजी क्षेत्रको छाता सङ्गठन हो र नेपालको निजी क्षेत्रको एकमात्र आस्थाको केन्द्र हो र मैले के गर्ने भनेर मेरो बाटो खुलस्त छ । मैले उद्योग वाणिज्य महासङ्घमा सबैभन्दा पहिला यो अर्थतन्त्रमा कोभिड–१९ ले पारेको असर असरलाई निर्मूल गरेर अर्थतन्त्रलाई फेरि चलायमान गर्नुपर्ने मेरो बाटो प्रस्ट रुपमा मैले देखेको छु ।’

महासङ्घको नेतृत्वमा गएपछि के काम गर्ने भन्ने विषयमा आफूले गृहकार्य गरिरहेको र छिट्टै रोडम्याप बनाइ सार्वजनिक गर्ने बताउनुभयो । उहाँले नयाँ मार्गदर्शन तयार गरेर सबैलाई साथ लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो । महासङ्घभित्र काम गर्न गाह्रो भएको र आफू अध्यक्षको रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने भएकाेले बलियो टिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले आफूलाई अहिलेसम्म सहयोग गर्ने र असहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अझै पनि केही व्यक्तिहरुकाे कारण महासङ्घमा बसेर काम गर्न चुनौती रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया