ट्विटर ह्याकिङ : विशिष्ट प्रयोगकर्ताकै खाता असुरक्षित

 साउन १, २०७७ बिहीबार १८:२०:५ | रासस
unn.prixa.net

काठमाण्डाै – विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्विटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । 

ट्विटरका अनुसार ह्याकरहरुले ट्विटरका कर्मचारीका अकाउन्ट ह्याक गरी आन्तरिक प्रणालीमा पहुँच हासिल गर्ने प्रयास गरेका थिए । 

साथै एप्पल, उबर, केन्ये वेस्ट, बिल गेट्स, बाराक ओबामा र अरु धेरै विशिष्ट व्यक्तिका आधिकारिक अकाउन्टबाट बिट्क्वाइन नामको क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी ट्वीट गरिएको थियो । 

ट्वीटरले भनेको छ, 'केही व्यक्तिले हाम्रा कर्मचारीका अकाउन्ट ह्याक गरी ट्विटरको आन्तरिक प्रणालीमा पहुँच हासिल गरेका र यो सङ्गठित सामाजिक इन्जिनियरिङ आक्रमण हो भन्ने हामीले विश्वास लिएका छौँ ।'

आक्रमणकारीले उच्च पदस्थ र सामाजिक रुपमा सुपरिचित व्यक्तिका अकाउन्ट ह्याक गरेर पहुँच बनाउन खोजेको ट्विटरको भनाइ छ । 'ह्याकरले अरु के कस्ता बदमासी गरेका छन् वा सूचनामा के कस्तो पहुँच कायम गरेका छन् भन्नेबारेमा हामी खोजी गरिरहेका छौँ', ट्विटरले भनेको छ ।

ह्याक गरिएका व्यक्तिका अकाउन्टबाट बिट्क्वाइनको कारोबार गर्दा दोब्बर फाइदा पुग्नेजस्ता सन्देशहरु प्रवाह भएका थिए । ३० मिनेटभित्र १,००० डलरको एउटा बिट्क्वाइन खरिद गरे दोब्बर रकम पाइने भन्दै अरु मानिसलाई इमेल समेत पठाइएका थिए ।

ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले एक ट्वीट गर्दै ट्विटरमा यो दिन निकै कठिनाइपूर्ण रहेको बताएका छन् । उनले यस घटनाका बारेमा तथ्यहरुको जाँच गरिसकेपछि सम्पूर्ण विवरण सार्वजनिक गरिने पनि जानकारी गराएका छन् । 

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी अभियानले ह्याक भएको बाइडेनको अकाउन्ट बन्द गरेको जनाएको छ । 

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता भने ह्याक गरिएको छैन । उनका झण्डै आठ करोड ३० लाख फलोअर्स छन् । 

अमेरिकी सञ्चारमाध्यम भाइसले ट्विटरका कर्मचारीकै लापर्वाहीका कारण ह्याकरहरु ट्विटरको आन्तरिक प्रणालीमा प्रवेश गरेको बताएको छ । ह्याकिङमा संलग्न रहेको दाबी गर्ने एक व्यक्तिले आफूहरुले ट्विटरका कर्मचारीलाई रकम दिएको बताएका छन् ।

साइबर–सुरक्षासँग सम्बन्धित कार्य गर्ने सोसल–प्रुफ सेक्युरिटीले पनि ट्विटरका कर्मचारीको प्रशासनिक पहुँचलाई ह्याकरले प्रयोग गरेको बताएको छ । 

यसैबीच, बिट–टोरेन्टका कार्यकारी प्रमुख जस्टिन सनलाई ट्विटरका ह्याकरलाई कानुनी कठघरामा ल्याए १० लाख अमेरिकी डलर पुरस्कार दिइने प्रस्ताव गरिएको खबर सार्वजनिक भएको छ । 
ट्विटरमाथि विगतमा पनि ह्याकरहरुले आक्रमणको प्रयास गरेका थिए । 

मार्च २०१७ मा एम्नेस्टी इन्टरनेशनल, फ्रान्सेली अर्थ मन्त्रालय र बीबीसीकाे उत्तर अमेरिकी सेवाका अकाउन्टहरु ह्याक गरिएका थिए । यी ह्याकरहरु टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानका समर्थक रहेको विश्वास गरिएको थियो ।

गएकाे अगस्टमा पनि ट्विटरका संस्थापक डोर्सेको निजी अकाउन्टबाट उनकाे जानकारी विना नै गलत एवं भ्रामक सन्देशहरु शृङ्खलाबद्ध रुपमा प्रवाहित भएका थिए ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया