अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र, नगर...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – रौतहट गौर नगरपालिकाका विजय किशोर झाको मोबाइलमा साउन ५ गते बिहान एसएमएस आयो ।
एसएमएसमा लेखिएको थियो, ‘वाग्मती खोलामा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस् ।’ त्यसपछि उहाँ परिवार र छिमेकीसहित नजिकैको सामुदायिक भवनमा जानुभयो ।
गौर नगरपालिका २ का नरेन्द्र महतोको मोबाइलमा पनि साउन ५ गते बिहानै एउटा म्यासेज आयो । म्यासेजमा बाढी आउने भन्दै सुरक्षित ठाउँमा जान भनिएको थियो । वाग्मती खोलामा वर्षौंदेखि डुङ्गा चलाउँदै आउनुभएका उहाँ म्यासेज आउनेबित्तिकै डुङ्गा थन्क्याएर घरतिर लाग्नुभयो ।
विजय किशोर र नरेन्द्र महतो जस्ता नदीखोला आसपासमा बस्नेहरु हिजोआज यसैगरी मोबाइलमा आएको सूचना हेर्छन् र बाढी आउने थाहा पाएपछि सुरक्षित ठाउँमा जान्छन् । बाढी पहिरो प्रभावित ठाउँका बासिन्दालाई सम्भावित जोखिमबारे पूर्व जानकारी दिने काम भइरहेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका मुरारी वस्तीले बताउनुभयो । पहिरोको जोखिमको पूर्व जानकारी दिने सूचना नभए पनि बाढीको पूर्व सूचना भने धेरै ठाउँहरुमा प्रभावकारी देखिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले एसएसमएस तथा साइरनको माध्यमबाट बाढीको जोखिमबारे सूचना दिँदै आएको छ । नागरिकसम्म सूचना पुर्याउनका लागि सरकारले वर्षात स्वचालित केन्द्र स्थापना गरेको महाशाखाकाा बरिष्ठ जलविद् विक्रम श्रेष्ठ जुआले जानकारी दिनुभयो ।
यस्ता केन्द्र देशभर १ सय ४ वटा रहेका छन् । यी केन्द्रहरुबाट हरेक १० मिनेटको अन्तरमा नदी तथा खोलामा पानीको मात्रा कति छ भनेर थाहा हुने उहाँले बताउनुभयो । यस्ता स्वचालित केन्द्रहरुमार्फत लगातार अनुगमन भइरहन्छ र जोखिमको सम्भावना हुने बित्तिकै त्यो क्षेत्रका बासिन्दाहरुलाई जानकारी दिने गरिन्छ ।
यो केन्द्रबाट विषेशगरी पानी कति परिरहेको छ भन्नेबारे जानकारी लिने गरिन्छ । यस्तै मान्छेले प्रत्यक्ष रुपमा पानीको मात्रा र बहावको निरीक्षण गरेर सूचना सम्प्रेषण गर्न मिल्ने केन्द्रहरु पनि भएको श्रेष्ठ बताउनुहुन्छ । यस्ता केन्द्रहरु देशभर २ सय वटा रहेका छन् । निरीक्षण गरेर सूचना संकलन गर्ने केन्द्रहरु सबै जिल्लामा सञ्चालनमा रहेका छन् ।
यस्तै बाढीको जोखिम आँकलन गर्न विभिन्न नदी तथा खोलाहरुमा जलसतह नाप्ने यन्त्रहरु स्थापना गरिएका छन् । यो यन्त्रमार्फत खोलाको किनारमै गएर हेर्न सकिन्छ । यो यन्त्र पनि प्रायः सबै जिल्लामा रहेका महाशाखाले जनाएको छ । विषेशगरी यस्ता यन्त्रहरु नदी/खोलाको माथिल्लो र तटीय क्षेत्रमा राखिएको हुन्छ । यसबाट पानीको मात्राले खतराको तह पार गर्यो कि गरेन, कहाँसम्म पुग्यो भनेर जानकारी लिन मिल्छ ।
खतराको तहसम्म पुग्यो या पार गर्यो भने तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान सूचना सम्प्रेषण गरिन्छ । साना नदी तथा खोलाका आसपास बस्ने बासिन्दालाई कम्तीमा दुई घण्टा अगाडि नै एसएसएसमार्फत् त्यसपछि सूचना दिइन्छ भने ठूला नदी क्षेत्रका बासिन्दालाई ५/६ घण्टा अगाडि नै पूर्व सूचना दिने गरिन्छ ।
कुनै पनि खोलामा पानीको सतह बढ्यो भने त्यसको सूचना बाढी पूर्वानुमान महाशाखामा पुग्छ । अनि त्यो सूचना विभिन्न माध्यमहरुबाट सम्बन्धित क्षेत्रका बासिन्दालाई पपठाइन्छ ।
बाढी आउनसक्ने सम्भावना भएमा यस्ता प्रविधीमार्फत् दिइएको जानकारी नागरिकले तत्काल अपनाएर सुरक्षित ठाउँमा सरिहाले जनधनको नोक्सानी धेरै हुन नपाउने बाढी पूूर्वानुमान महाशाखाका श्रेष्ठ बताउनुहुन्छ । ठूला नदी तटीय क्षेत्रमा बस्ने बासिन्दालाई ५/६ घण्टा अगाडि नै सूचना दिइने हुनाले मोबाइलमा एसएमएस आउनेबित्तिकै वा साइरन बज्नेबित्तिकै जीउधनको सुरक्षा गर्न सहज हुने उहाँ बताउनुहुन्छ ।
पहिरोबारे भने अहिलेसम्म नेपालमा पूर्वसूचना प्रणाली नभएकाले नागरिकलाई जानकारी दिन कठिन हुने गरेको खानी तथा भूगर्भ विभागका सूचना अधिकारी डाक्टर जनक बहादुर चन्दले बताउनुभयो । तर सम्भावित जोखिमयुक्त ठाउँ भने छुट्याइएकाले पहिले नै नागरिक सतर्क हुनुपर्ने उहाँको भनाई छ ।
बाढीको जोखिमबारे पूर्व सूचना प्रभावकारी भए पनि पर्याप्त हुन नसकेको गुनासो छ । जोखिम क्षेत्रका केही बासिन्दासँग अझै पनि मोबाइल फोनको सुविधा नभएको र टाढा घर भएकाले यसको फाईदा लिन सकेका छैनन । यस्तै जोखिम क्षेत्रको जिल्ला भन्दा बाहिरको जिल्लाबाट निकालिएका सिमकार्ड प्रयोगकर्ताहरुसम्म पनि यो सूचना पुग्दैन । कतै भने सुरक्षित ठाउँ यकिन नहुँदा र सबैले बुझ्नेगरी सूचना सम्प्रेषण नहुँदा पनि यो हुनुपर्ने जति प्रभावकारी हुन सकेको छैन ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा अलि धेरै पानी पर्ने भएकोले त्यहाँका बासिन्दाले अलि धेरै सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र प्रदेश ५ मा बाढीको उच्च जोखिम रहेको छ ।
त्यस्तै २०७२ सालको भूकम्पका कारण प्रभावित क्षेत्र सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायत जिल्लाका बासिन्दाहरु पहिरोसँग सतर्क रहनुपर्ने हुन्छ ।
भूकम्प गएका प्रभावित क्षेत्रमा एकदेखि साढे एक प्रतिशत घरहरु जोखिममा रहेका छन् । विपदलाई रोक्न त सकिंदैन, तर समयमै सूचना संकलन र सम्प्रेषण गर्न सकेमा सम्भावित जनधनको क्षति भने पक्कै कम गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।