अन्तरिक्षमा परीक्षण गरिएको उपग्रहमा कुनै हतियार नभएको रुसको दाबी

 साउन १०, २०७७ शनिबार ८:५४:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - अन्तरिक्षमा परीक्षण गरिएको उपग्रहमा कुनै हतियार नभएको रुसले स्पष्ट पारेको छ । रुसको रक्षा मन्त्रालयले अमेरिका र बेलायतको आरोप खण्डन गर्दै तथ्य मोडेको आरोप लगाएको हो । 

रुसले गएको असार ३१ गते गरिएको परीक्षण अन्तरिक्षको लागि खतरा नरहेको र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको स्पष्ट पारेको हो । यसअघि रुसले भू-उपग्रहमा प्रहार गर्न सकिने हतियार अन्तरिक्षमा परीक्षण गरेको आरोप लगाउँदै अमेरिका र बेलायतले चिन्ता व्यक्त गरेका थिए । 

अमेरिकाले भू-उपग्रहमा मार हान्न सक्ने अस्त्रको परीक्षण हुनु चिन्ताको विषय भएको बताएको छ भने बेलायतले यस्ता कामले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगलाई खतरामा पार्ने बताएको बीबीसीले जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले अन्तरिक्षमा भएका रुसी उपकरणहरू जाँच्न नयाँ प्रविधि प्रयोग गरिएको जनाएको थियो । अहिलेसम्म रुस, अमेरिका, भारत र चीनसँग मात्रै भू-उपग्रहमा मार हान्ने क्षमता रहेको बीबीसीले जनाएको छ ।      
 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया