ब्राजिलका राष्ट्रपति बोलसोनारोको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

 साउन ११, २०७७ आइतबार ९:२७:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताउनुभएको छ । 

६५ वर्षका बोलसोनारोले गएको असार २३ गते आफू कोरोना भाइरस सङ्क्रमित भएको बताउनु भएकोमा फेरि आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताउनुभएको समाचार एजेन्सी अल जजिराले जनाएको छ । 

उहाँको कोरोना परीक्षणका लागि नमुना कहिले सङ्कलन भएको र कहिले रिपोर्ट आयो भन्नेबारे भने उहाँले जानकारी दिनुभएको छैन । कोरोनाको उपचारको लागि उहाँले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नुभएको थियो ।

मलेरियाका बिरामीलाई दिइने यो औषधिले कोरोनाका बिरामी निको हुने वैज्ञानिक रुपमा पुष्टि भइसकेको छैन । बोलसोनारोले कोरोना महामारीलाई पटक-पटक सामान्य रुपमा मात्रै लिएको अभिव्यक्ति दिँदै आउनुभएको छ ।

उहाँले कोरोना भाइरसको सङ्क्रमणलाई सामान्य ज्वरोको पनि संज्ञा दिनुभएको थियो । कोरोना सङ्क्रमणका हिसाबले ब्राजिल पनि निक्कै सङ्क्रमित देश हो । ब्राजिलमा गएको मार्चमा पहिलो सङ्क्रमण पुष्टि भएको थियो । 

त्यसपछि भने लगातार सङ्क्रमण बढिरहेकाे छ । कोरोना सङ्क्रमण फैलिए पनि राष्ट्रपति बोलसोनारोले राजनीतिक सभा सम्मेलनमा सहभागी हुनुभएको थियो । त्यो पनि कहिले गलत तरिकाले मास्क लगाएर त कहिले मास्क नै नलगाई सभा सम्मेलनमा सहभागी भएको भन्दै उहाँको आलोचना हुने गरेको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया