मरुभूमिका आकाशमा जहाज देख्दा मन रुन्छ, कहिलेसम्म बस्नु बाध्य भएर ?

 साउन १४, २०७७ बुधबार १७:४८:४३ | मेरो कथा मेरो भोगाई

उदयराज डुम्रे, नवलपरासी , हाल यूएई ।

पहिले पहिले लाग्थ्यो विदेश जान पाए त के के न गरौंला । तर अहिले परदेशको दुःख भोगेपछि लाग्छ, घर जान पाए त जस्तो हुन्छ, जसरी पनि भेट भरौंला ।

तर मनले चाहेर जान्छु भनेर मात्र कहाँ हुन्छ र ! यतिबेला त घर जान खनखनी आफैं पैसा तिर्छु भन्दा पनि जहाजको टिकट पाइँदैन । कम्पनी बन्द भएको चार महिना भयो । खान र बस्न त दिएको छ कम्पनीले । तर यहाँ कम्पनीले खान र बस्न दियो भनेर मात्र पनि नहुने रहेछ ।

हामी मजदुरी गरेर आफ्नो घर परिवार चलाउन पर्छ भने हाम्रै पसिनाले छोराछोरीको पनि भविष्य निर्धारण गर्छ । तर परदेशमा कमाइ भएन । घर जान पाइन्छ कि भन्ने आशमा एउटै कोठामा थुनिंदा थुनिंदा आशै मार्न थालेको छ । बाहिर जाउँ पैसा छैन । 

बाहिर गयो भने खान मन लाग्छ, कमाइ छैन । के गर्नु ? कोठामा पनि कति बस्नु ? कोठा नै हाम्रो लागि जेल भैसक्यो । उता छोराछोरी बाबा कैले आउने भन्छन् । छोराछोरीलाई ढाँटेको पनि चार पटक भइसक्यो । यहाँ के गरेर बस्नु । न काम छ न कमाइ ।

उता घरमा लालाबाला मेरै भर परेर बसेका छन् । कम्पनीको आम्दानी छैन । त्यसैले अहिले बसिरहेको गाउँबाट सस्तोमा सार्न भनेको थियो । सँगै बसेका साथीभाइलाई टिकट नपाउन्जेलका लागि भनेर सस्तो ठाउँमा सारिसक्यो । म यहाँ छु । न साथीभाइ छन्, न कोही ।

यो परदेश त धेरै बिरानो भइसक्यो । कम्पनीले खानसम्म त दिएको छ । नेपाल सरकारले अझै यस्तो बेवास्ता गर्ने हो भने सायद अब खान पनि नदिने अवस्था आउन सक्छ ।

केही गर्न नसके पनि घर फर्कन खोज्ने नागरिकलाई उद्धार त समयमा गर्न सक्न पर्थ्यो नि । कमसेकम रोजगारदाताले टिकट दिएर पठाउँदा त अनुमति देउ न ? कति दिन यो मरुभूमिमा बाध्य भएर बस्नु ? मेरो भिसा पनि रद्द भइसकेको छ ।

भिसा विना लामो समय बस्दा अब त सजायको भागेदार हुनु पर्छ । मरुभूमिको आकासमा जहाज उड्छ, धेरै नै नराम्रो लाग्छ । आशा छ सरकारले हाम्रो कुरा सुन्ने छ र चाँडै घर जान पाइनेछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया