बेङ्गलोर : सामाजिक सञ्जालकाे पोस्टलाई लिएर भएको विवादमा ३ जनाको ज्यान गयो, ११० पक्राउ

 साउन २८, २०७७ बुधबार १४:०:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको शहर बेङ्गलोरमा एक सामाजिक सञ्जालको पोस्टलाई लिएर भएको विवाद र त्यसपछिको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । 

पुलिस कमिस्नर कमल पन्तले बीबीसीसँग भने, ‘गएको राति प्रहरीको गोली लागेर घाइते भएका तेस्रो व्यक्तिको ज्यान गएको हो । राति साढे १२ बजेपछि यहाँको अवस्था नियन्त्रणमा छ ।’

प्रदर्शनकारीकाे उग्र भिडले दुई वटा पुलिस स्टेशन र कांग्रेस पार्टीका एक विधायकको घरमा आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बीबीसीमा उल्लेख छ । मानिसको भिड सामाजिक सञ्जालको एक आपत्तिजनक पोस्टविरुद्ध प्रदर्शन गर्दै पुलिस स्टेशन पुगेका थिए ।   

बेङ्गलोरका पुलिस कमिस्नर कमल पन्तका अनुसार डीगे हल्ली र केजी हल्ली इलाकामा कर्फ्यु लगाइएको छ र पूरै शहरमा धारा १४४ (शान्ति व्यवस्था कायम गर्न विशेष व्यवस्था) लागू गरिएको छ । 

समाचार एजेन्सी एएनआईका अनुसार, बेङ्गलोरका ज्वाइन्ट पुलिस कमिस्नर (अपराध शाखा) संदीप पाटिलको भनाइलाई उद्धृत गर्दै यो घटनामा अहिलेसम्म एक सय १० जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।   

पुलिकेशनिगरका कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका एक नातेदारले कथित रुपमा सामाजिक सञ्जालमा धार्मिक आस्थामा ठेस पुग्ने एक आपत्तिजनक पोस्ट गरे, त्यसको विरोधमा मानिसको ठूलो भिड पुलिस स्टेशन पुगेर पोस्ट गर्नेविरुद्ध कारबाहीको माग गरेका थिए । 

प्रहरीका अनुसार सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्नेलाई हिरासतमा लिइएको छ । ती व्यक्तिको नाम नवीन बताइएको छ, जो विधायकको भतिज भएको बताइएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया