मलेसियामा कार्यरत ११ जना नेपाली खर्च अभावमा अलपत्र

 साउन २९, २०७७ बिहिबार १४:११:० | रासस
unn.prixa.net

काठमाण्डाै – मलेसियाको एक कम्पनीमा कार्यरत ११ जना नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसाकाे म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भइ त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उहाँको भनाइ छ । पाँच महिनादेखि विनारोजगारी कोठामा बसिरहँदा खर्च अभाव भएको उहाँले बताउनुभयो । 'पाँच महिनादेखि काम गर्न पाएको छैन', श्रेष्ठले भन्नुभयो, 'मलेसियास्थित नेपाली दूतावासमा अनलाइनमार्फत नेपाल आउन पटकपटक फारम भर्यो तर नियमित उडान नहुँदा महँगो पर्ने भन्दै कम्पनीले पठाउन मान्दैन ।

नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उहाँको भनाइ छ । चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुँदा समस्या भएको भन्दै उहाँले सहयोगका लागि अनुरोध गर्नुभयो ।

मलेसियाबाट नेपाल आउनका लागि नियमित उडानमा छ सयदेखि सात सय रिङ्गिट तथा चार्टर्ड उडानमा एक हजार ५ सय ९० रिङ्गिट पर्ने उहाँको भनाइ छ । विमानस्थल पुग्न छ घण्टा हिँड्नुपर्ने र त्यसका लागि ७० रिङ्गिट तथा कोरोना परीक्षणका लागि ३५० रिङ्गिट खर्च लाग्ने हुँदा समस्या भएको अर्का नीरकुमार तामाङले बताउनुभयो । कम्पनीले खर्च नबेहोर्दा नेपाल आउन उनीहरुले ५६ हजार ७९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

खान र बस्नका लागि कम्पनीले व्यवस्था गरेको भए पनि कम्पनीले दिने खाद्यान्नले नपुग्ने विकास विश्वकर्माले बताउनुभयो । नौ जनालाई हप्तामा २० केजी चामल दिने भए पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । नेपाली दूतावासलाई भनेपछि एक महिनायता मात्रै व्यस्था गरेको उनीहरुको भनाइ छ ।

खानाकै लागि एक जनालाई ४०० रिङ्गेट खर्च हुने घनश्याम श्रेष्ठ बताउनुहुन्छ । अहिले त्यस क्षेत्रमा पनि कोरोना देखिन थालेकाले जोखिम बढेको भन्दै उद्धारका लागि अनुरोध गर्नाको विकल्प नभएको उहाँले बताउनुभयो । अब खानाकै लागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

अलपत्र पर्नेमा झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अम्मर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम रहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया