लण्डन लैजाने भन्दै भिजिट भिसामा दुबई पुर्‍याएर ६३ जना अलपत्र, दलालबाटै पीडितहरु कुटिए

 साउन ३०, २०७७ शुक्रबार ९:५५:५४ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – लण्डन लैजाने भन्दै भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र बनाइएका दुई जना नेपालीलाई दलाल (एजेण्ट)ले निर्घात कुटपिट गरेका छन् । लण्डन जाने आशामा भिजिट भिसामा यूएई पुगेका मनोहर केसी र रामेछापका टिकाराम बोहोरा उल्टै दलालबाट कुटिएका हुन् ।

लण्डन लैजाने भन्दै दुबई ल्याएर त्यहाँ नक्कली कम्पनी स्थापना गरी यूएईमै काम लगाउने भन्दै नेपाली दलाल श्याम थापाले ६३ जना नेपाली युवालाई अलपत्र पारेका छन् । लण्डन पठाउन नसकेपछि एजेण्ट थापाले ७ हजार ५ सय दिर्हाम मासिक तलबको नक्कली प्रस्ताव सहित नक्कली कम्पनी खडा गरेर कामदार भिसा समेत दिएर ६३ जनालाई अलपत्र बनाएको र अलपत्रमध्ये अधिकांश सम्पर्कमा आएको दूतावासले जनाएको छ ।

एजेण्ट थापा पीडितहरुको पासपोर्ट लिएर सम्पर्कविहीन भएपछि पीडितहरुले गैर आवासीय नेपाली संगठन (एनआरएनए) यूएई र नेपाली दूतावासमा सहयोग र उद्धारका लागि निवेदन दिएका थिए ।

दूतावासमा उजुरी गरेको थाहा पाएपछि एजेण्ट श्याम थापाले एनआरएनए दुबई क्षेत्रका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्री (एरिक)को उपस्थितिमा केही स्थानीय बारमा काम गर्ने युवाहरुको उपस्थितिमा पीडितमध्ये बोहोरा र केसीलाई नेपाली चोक बरदुबईमा बोलाएका थिए । आफ्नो पासपोर्ट पाउने आशामा बरदुबई पुगेका उनीहरुलाई छलफलका क्रममा सामान्य विवाद भएपछि अन्धाधुन्ध आक्रमण भएको हो । कुटपिटबाट दुईजना पीडितको हात, मुख र नाकमा गम्भीर चोट लागेको छ ।

एजेण्ट श्याम थापा

पीडितमाथि कुटपिट हुँदा एनआरएनए दुबई क्षेत्रका अध्यक्ष भीम मल्ल ठकुरी पनि त्यही स्थानमै हुनुहुन्थ्यो । नेपालीको विषय भएकाले सकेसम्म मिलाएर मुद्दा मामिला नगर्न मल्लले  सुझाउनुभएको थियो । त्यही सुझावलाई लिएर मल्लमाथि दलालसँगको संलग्नता रहेको भन्दै एनआरएनएमा विरोध भएको छ । पीडितहरुले न्यायको सट्टा कुटाइ खाएपछि स्थानीय प्रहरी गुहारेका थिए । प्रहरीलाई खबर गरेलगत्तै श्याम थापा सहितको टोली घटनास्थलबाट भागेको थियो । एजेण्ट थापा अहिलेसम्म फरार रहेको दूतावासले जनाएको छ ।​

करोडाैं ठग्ने म्यानपावर र यूएई एजेण्ट थापालाई कारबाही गर्न दूतावासको पत्राचार

नेपालीलाई अलपत्र पार्ने एजेण्ट श्याम थापालाई ठगी मुद्दामा कारबाही गर्न नेपाली दूतावास आबुधावीले विभिन्न निकायमा पत्राचार गरेको जनाएको छ । दूतावासले गृह, पररास्ट्र तथा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागलाई समेत पत्र लेख्दै थापालाई पक्राउ गरेर कारबाही अगाडि बढाउन पत्राचार गरेको हो ।

यूएईको स्थानीय प्रहरीमा समेत पीडित आफैले उजूरी गरेको तथा पीडितहरुले दूतावासमा दिएको निवेदनका आधारमा कारबाहीका लागि पत्राचार गरेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रीता धितालले उज्यालोलाई जानकारी दिनुभयो ।

पीडितहरुको उजुरीका आधारमा तीनजुरे इम्प्लोइमेन्ट प्रालि र दुबई एजेण्ट श्याम थापालाई कारबाहीका लागि पत्राचार गरिएको हो । त्यही गिरोहले पीडितहरुबाट प्रतिव्यक्ति ९ लाख रुपैयाँ उठाएको पीडितहरुले बताएका छन् । एजेण्ट थापाले एनआरएनएमा आफ्नो पहुँच रहेको भन्दै पीडितहरुलाई धम्काएको गुनासो पीडितहरुको छ । 

अधिकांश पीडितहरु तीनजुरे इम्प्लोइमेन्ट सर्भिसेज्की जनसम्पर्क अधिकृत सिर्जना अधिकारी र सन्तोष थापा मार्फत दुबई पुगेका थिए । पीडितहरुका परिवारले सम्बन्धित म्यानपावर कम्पनीमा सम्पर्क गर्दा सञ्चालक बिनय राई पञ्छिने गरेको पीडित परिवारले बताएका छन् ।

नक्कली भिसा

पीडितहरु कुटिएपछि एनआरएनए यूएईमा राजनीतिक लडाईं

दुबईमा अलपत्र पीडितहरु कुटिएपछि एनआरएनए यूएईमा राजनीतिक लडाईं शुरु भएको छ । पीडितहरुकै आग्रहमा सहयोगी बनेर गएका एनआरएनए दुबई क्षेत्रका अध्यक्ष भीम मल्ल ठकुरीलाई दलालसँग मिलेर काम गरेको पीडितहरुले आरोप लगाएका छन् । तर ठकुरीले दलाल थापालाई खोजेर पीडितहरुसँग भेट गराई समस्याको समाधान गर्न खोजेको र पीडितको पक्षमा काम गर्दागर्दै राजनीतिक प्रतिशोधका कारण आफूलाई विवादमा तानेको बताउनुभएकाे छ ।

यता एनआरएनए यूएईले दुबई क्षेत्रीय समिति अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्री त्यस घटनामा संलग्न नरहेको बरु एजेण्ट श्याम थापासँग पासपोर्ट जफत गरी पीडितहरुलाई सहयोग गरेको एक विज्ञप्ति पनि जारी गरेको थियो । तर त्यही विज्ञप्ति पनि संस्थाको आधिकारिक नभएको र एनआरएनए यूएई उपाध्यक्ष नरबहादुर शेनले मनोमानी रुपमा जारी गरेको भन्दै विवाद सुरु भएको थियो । एनआरएनएका यूएई अध्यक्ष प्रकाश कोइरालाले कुनै पनि सूचना वा विज्ञप्ति प्रकाशन गर्ने काम संस्थाका प्रवक्ता वा सचिवले गर्ने निर्णय गरेको एक हप्ता नहुँदै नियम उल्लङ्घन गरेको बताउनुभयो । 

अध्यक्ष कोइरालाले पनि पीडितहरु कुटपिट भएको बिषय गम्भीर भएको र यस घटनामा दुबई क्षेत्रीय समिति अध्यक्ष भीम मल्लको संलग्नता नदेखिएको भन्दै घटना हुनुभन्दा केही समय अघिसम्म मल्लसँग टोलिफोन संवाद गरेको र मल्लले थापालाई पीडित समक्ष उपस्थित गराएर पीडितहरुलाई सहयोग गरेको बताउनु भयो । अनुसन्धान जारी रहेको कोइरालाको भनाइ छ ।

तर एजेण्ट र पीडितबीचको विवादमा एनआरएनए यूएईलाई मुछ्नु राजनीतिक खिचातानी भएको उपाध्यक्ष नरबहादुर शेनको भनाइ छ । दोषी जोसुकै भए पनि नेपालबाट उडान सेटिङ गर्ने र यूएईमा अलपत्र पार्ने दलालका विषयमा अनुसन्धान हुनुपर्ने भन्दै पीडितले न्याय पाउनै पर्ने शेनको भनाइ छ । आफूले संस्थाको हितमा जारी गरेको विज्ञप्तीमा कुटाइ खाने र कुट्ने दुवैजना दलाल भएको भन्ने लेखिएकोले आफूले गल्ती महसुस गरेको पनि शेनले बताउनु भयो ।

एनआरएनए यूएई उपाध्यक्ष सहित, एनआरएनका ३ जना निलम्बित

​पीडितहरु माथि कुटपिट भएको घटनासँग एनआरएन यूएई विवादमा मुछिएपछि एनआरएनले ३ जनालाई संस्थाबाट निलम्बन गरेको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्नको आरोप लागेका एनआरएनए दुबई क्षेत्र अध्यक्ष भीम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्रीलाई अनुसन्धान नसकिदासम्मका लागि निलम्बन गरेको जनाएको छ ।

त्यस्तै पीडितहरु कुटिएको गम्भीर विषयलाई मनोमानी रुपमा संस्थाको निर्णयविना विज्ञप्ति जारी गरेको भन्दै एनआरएनए यूएईका उपाध्यक्ष नरबहादुर शेनलाई समेत निलम्बन गरेको जनाएको छ । तर शेनले एजेण्टलाई कारबाही गर्न सहयोग पुगोस् भन्दै आफूले एनआरएनए उपाध्यक्ष पदबाट राजीनामा दिएको बताउनु भएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया