यूएईमा एकै ठाउँमा दुई नेपालीको हत्या : एकको पहिचान खुल्यो, एकको बाँकी

 साउन ३२, २०७७ आइतबार १७:५०:२१ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईमा हत्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको छ ।

यूएईको सारजाहमा साउन २४ गते हत्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । हत्या हुनेमा तनहुँ भगवतीपुर ७ का ३६ वर्षिय मंगलराज श्रेष्ठको पहिचान भए पनि अर्का एक नेपालीको भने पहिचान खुलेको छैन ।

गएको साउन २४ गते शनिबार सारजाहमा दुई नेपालीको हत्या भएको यहाँका स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि दूतावासले चासो लिएको छ । पहिचान खुलेका श्रेष्ठको शरीरमा २० ठाउँमा छुरा प्रहार भएको छ । अर्का नेपालीको शरीरमा पनि त्यस्तै धारिलो हतियार प्रयोग गरेर हत्या भएको दूतावासको भनाइ छ ।

घटनाको प्रारम्भिक विवरण अनुसार दुई जनाबीच आपसी विवाद हुँदा एक अर्काको हत्या भएको भनिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा केही पक्राउ परेका यूएईको स्थानीय सञ्चारमाध्यम गल्फ न्युजले उल्लेख गरेको छ ।

एउटै घटनामा दुई नेपालीको हत्या भएको जानकारी दूतावासलाई भए पनि स्थानीय प्रसाशनले अनुसन्धान गरिरहेकाले पूर्ण विवरण आउन बाँकी रहेको दूतावासका प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धितालले बताउनुभयो ।

घर फर्कन पाएनन् मंगलराज​

दुई वर्ष पहिले मंगलराज नेपालबाट बहराइन जानुभएको थियो । बहराइनमा काम गर्दा गर्दै अनलाइनमार्फत यूएईमा काम खोजेर बहराइनबाटै यूएई आएको मृतकका जेठान कर्मा लामाले उज्यालोलाई जानकारी दिनुभयो ।

एक वर्ष अघिदेखि यूएईमा कार्यरत मंगलराज घरमा पालेका चराचुरुङ्गीलाई रेखदेखको काम गर्ने आफन्तले बताएका छन् । उहाँको घर जाने योजना थियो ।

घरबिदामा नेपाल फर्कन उहाँले भदौ १ गतेको टिकट काट्नुभएको थियो । हातमा टिकट र साथमा घर फर्कने योजना लिएर मंगलराज यूएईमै अस्ताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया