संघीय सरकारले खटाएका कर्मचारी राख्ने/नराख्ने विषयमा नेपालगञ्ज उपमहानगरपालिकामा विवाद

 साउन २२, २०७५ मंगलबार १७:४२:५७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  नेपालगञ्ज उप–महानगरपालिका कार्यपालिकाको बैठकले  महाशाखा नराख्ने र संघीय सरकारले खटाएका कर्मचारी हाजिर नगराउने निर्णय गरेको भन्दै उपप्रमुख लगायत एक तिहाई कार्यपालिका सदस्यहरुले विरोध जनाएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपमेयर उमा थापा मगर लगायत वडा अध्यक्ष र सदस्यहरुले मङ्गलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी कार्यपालिकाले बहुमतका आधारमा गरेको निर्णय महानगरपालिका बनाउने नगरसभाको निर्णयको विरोधमा भएको दाबी गरेका छन् ।

३३ सदस्यीय नेपालगञ्ज उप–महानगरपालिकाको कार्यपालिकामा नेपाली कांग्रेसका तर्फबाट उपप्रमुख उमा थापा मगर, ८ जना वडा अध्यक्षसहित ११ जनाको प्रतिनिधित्व रहेको छ । 

संघीय सरकारको प्रस्तावित संरचना अनुसार उप–महानगरपालिकामा ७ वटा महाशाखा र त्यस अन्तर्गत विभिन्न शाखा तथा इकाईको व्यवस्था गरिएको छ । संघीय सरकारले अहिले कार्यरत कर्मचारी र अपुग कर्मचारीको विवरण माग गरेकोमा उप–महानगरपालिकाको सोमबार बसेको बैठकले महाशाखा नराख्ने र संघीय सरकारले खटाएका कर्मचारीलाई हाजिर नगराउने निर्णय गरेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष वीरेन्द्र शाहले जानकारी दिनुभयो ।

उपमहानगरले यसअघि पनि  सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका लेखा अधिकृतलाई हाजिर हुन नदिई फर्काएको थियो । महाशाखाको नेतृत्व उपसचिवले गर्ने र उनीहरुले आफूलाई टेर्दैनन् भन्ने उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणालाई लागेको छ’, वडा अध्यक्ष शाहले भन्नुभयो, ‘उहाँलाई कर्मचारी प्रति नै विश्वास छैन भने आगामी दिनमा कसरी काम गर्न सक्नु हुन्छ ?’

उहाँले विगत एक वर्षमा मेयर डा. राणाको कार्यशैलीमा धेरै असहमत भए पनि निर्णय प्रक्रियामा साथ दिएको बताउँदै मेयरका क्रियाकलाप गलत भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा  वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमाल, १० का बिन्दु भुषण बस्नेत, ११ का उज्जवल राठौर, १२ का बुद्धिसागर सुवेदी,  १६ का अनिफ जोलाह र २२ का विद्याराम वर्मालगायत उपस्थित थिए ।

नगर कार्यपालिकाको सोमबारको बैठकमा उपमेयर मगर राजधानीमा भएका कारण अनुपस्थित रहनुभएको थियो । नेपालगञ्ज उप–महानगरपालिका कार्यपालिकामा नेकपाका सबैभन्दा बढी १२ जना रहेका छन् ।

राप्रपाका मेयर राणासहित ६ र फोरमका ४ गरी ३३ जना रहेका छन् । यसैबीच स्थानीय तहको निर्वाचनमा सेवा सुविधा नलिने घोषणा गरेका राप्रपाबाट निर्वाचित मेयर राणाले अहिलेसम्म निरन्तर सेवा सुविधा लिँदै आएका कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया