शिक्षित र पढेलेखेका व्यक्तिले आत्महत्या गर्ने क्रम बढ्याे

 भदौ २५, २०७७ बिहीबार १७:३६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षित र पढेलेखेका व्यक्तिले आत्महत्या गर्ने क्रम बढेको छ । घरेलु हिंसाका कारण शिक्षित महिलाले आत्महत्या गर्ने क्रम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, साथीभाइ, समाज, परिवार र व्यक्तिका कारण पनि आत्महत्या गर्ने बढेका छन् । विशेषगरी २५ देखि ४० वर्ष उमेर समूहका महिलाले आत्महत्या गर्ने क्रम बढेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।

नेपालमा हरेक वर्ष ६ हजार जनाले आत्महत्या गर्ने गरेकाे सरकारी तथ्याङ्क छ । हरेक दिन १६ जनाले आत्महत्या गर्ने गरेकामा कोरोनाका कारण अहिले यो संख्या बढेर २० पुगेको डाक्टर रोशन पोखरेलले बताउनुभयो । उहाँका अनुसार ८५ प्रतिशतले मानसिक रोगकै कारण आत्महत्या गर्ने गरेका छन् ।

आत्महत्याको सोच बनाएका कुनै पनि व्यक्तिले सुरुमै लक्षण देखाउने भएकाले नजिकका आफन्त, परिवार, साथीभाई र समाजले बुझिदिए आत्महत्यालाई रोक्न सकिने उहाँले बताउनुभयो । आत्महत्याको सोच बनाएकाहरुले एक्लै बस्न रुचाउने, घुलमिल नहुने आत्महत्याका विषयमा धेरै सोच्ने, नकारात्मक लेख लेख्ने, डोरी लुकाएर राख्ने जस्ता लक्षण देखाउने डाक्टर पोखरेलले बताउनुभयो ।

उहाँले उपचार पछि ८० प्रतिशत मानसिक रोगलाई निको पार्न सकिने हुँदा बेलैमा बिरामीको अवस्था बारे ध्यान दिन सुझाव दिनुभयो । उपचार हुँदैन वा सक्दिन भन्ने सोच हाबी भएकालाई सम्झाई बुझाई गर्नु पर्ने उहाँको भनाई छ । उहाँले मानसिक रोगको समस्या भएकालाई साईकोथेरापी र केमोथेरापीमार्फत उपचार गरिने जानकारी दिनुभयो ।

साइकोथेरापी अर्थात सकारात्मक चिन्तन र केमोथेरापी अर्थात औषधिमार्फत बिरामीलाई ठिक गर्न सकिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो । यस्तै, उहाँले नियमित व्यायाम, योग, श्वास लिने तरिका र ध्यान तथा समयमा सन्तुलित खानपान गर्नु पर्ने सुझाव दिनु भएको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले मानसिक रोगको समस्या समाधानका लागि नि:शुल्क परामर्श दिन १६११ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ । मन्त्रालयले आजदेखि १६११ नम्बर मार्फत नि:शुल्क परामर्श दिने व्यवस्था गरेको हो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया