छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरलाई पाँच दिनभित्र सम्पर्कमा आउन मन्त्रालयकाे आग्रह

 भदौ २६, २०७७ शुक्रबार १५:९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरलाई मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरेको छ । 

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवनजङ्ग रायमाझीले त्यस्ता संस्था र त्यहाँ छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरलाई पाँच दिनभित्र मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गर्नुभएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारी छात्रवृत्तिमा चिकित्सा विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने योजनाअनुसार मन्त्रालयले स्वास्थ्य संस्थालाई माग गर्ने भनेको हो ।

मन्त्रालयले त्यस्ता स्वास्थ्य संस्थालाई आउँदाे सोमबारसम्म आवश्यक विशेषज्ञ जनशक्तिका लागि निवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले सरकारी शिक्षण संस्थामा डाक्टर विषय अध्ययनका लागि छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार सरकारी कोटामा स्नातकोत्तर अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने उल्लेख छ । 

दुई हजार स्वयंसेवा गर्न इच्छुक

कोभिड–१९ को रोकथाम र उपचारका लागि झण्डै दुई हजार स्वास्थ्यकर्मीले स्वयंसेवा गर्न इच्छा देखाएका छन् । मन्त्रालयले केही दिन अघि स्वंसेवकका लागि आवेदन माग गरेकोमा एक हजार नाै सय ३५ जना स्वास्थ्यकर्मीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सघाउने इच्छा देखाउँदै आवेदन फाराम भरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आवेदन फारम भरेका स्वयंसेवकलाई उनीहरुले रोजेको ठाउँमा गइ अस्पताल तथा  स्वास्थ्य संस्थाको आइसोलेशन तथा क्वरेण्टीनमा रहेका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छन् । मन्त्रालयले इच्छुक चिकित्सक, नर्स, प्यारमेडिक्सलगायत स्वास्थ्यकर्मी र सेवानिवृत स्वास्थ्यकर्मीलाई स्वयंसेवकको रुपमा काम गरी कोभिड–१९ को नियन्त्रण गर्न आह्वान गरेको थियो । स्वयंसेवकलाई आफूले स्वयंसेवा गर्न चाहेको जिल्ला, पालिका र स्थानको आवश्यकता र माग बमोजिम खटाइने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया