विदेशमा अलपत्र नेपालीको एक महिनाभित्र उद्धार गरिसक्छौँ : मन्त्री यादव

 भदौ २८, २०७७ आइतबार १९:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेका सबै नेपाली नागरिकलाई एक महिनाभित्र उद्धार गरिसक्ने बताउनुभएको छ । 

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिनाभित्र स्वदेश ल्याउने गरी काम अगाडि बढाइएको बताउनुभयो । त्यसका लागि उडान सङ्ख्या थप्ने गरी व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो । 

सुरुमा दैनिक पाँच सय नेपालीलाई ल्याउने भनिएकोमा पछि माग बढेपछि आठ सय जनालाई ल्याउने व्यवस्था गरिएको थियो । त्यो सङ्ख्या पनि कम भएपछि पछिल्लो समय त्यस्तो सीमा हटाएर सकेसम्म धेरै नेपालीलाई ल्याउने गरी व्यवस्था मिलाइएको बताउनुभयो ।

त्यहीअनुसार भदौ २६ गते आठ सय ३६ जना, भदौ २७ गते आठ सय ८० जना र भदौ २८ गते आठ सय ९० जना नेपालीको उद्धार गरी नेपाल ल्याइएको पनि मन्त्री यादवले बताउनुभयो । उहाँले पहिलो प्राथमिकतामा कम्पनी बन्द हुन लागेका श्रमिकहरु जसलाई कम्पनीले नै टिकट दिएको छ उनीहरुलाई र रोजगारी गुमाएर बेखर्ची भइ बसेकालाई ल्याउने व्यवस्था मिलाइएको बताउनुभयो ।  

आफ्नै खर्चमा आउन नसक्ने र कम्पनीले समेत खर्च नबेहोर्नेलाई घरसम्म पुग्ने खर्चको व्यवस्थापन वैदेशिक लोक कल्याणकारी कोषबाट व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो ।

देशभित्र बेरोजगार भइ बसेका श्रमिकहरुको उद्धारका लागि कुनै तथ्याङ्क नहुँदा समस्या भएको पनि उहाँले बताउनुभयो । कोभिड–१९ सुरु भएसँगै राज्यले अरबौँ रुपैयाँको राहत वितरण गरेको तर त्यसको तथ्याङ्क नराखिएकाले अहिले फेरि समस्या आएको गुनासो मन्त्री यादवको छ । राहत वितरण गर्दा पाउनुपर्नेले नपाउने र नपाउनुपर्नेले पाउने हुँदा तथ्याङ्क नराखिएको हुन सक्ने उहाँले बताउनुभयो । यस्तो कुरा गर्नुपर्दा आफूलाई अप्ठ्यारो लगिरहेको गुनासोसमेत मन्त्री यादवको छ ।

बैठकमा सांसदहरुले विदेशमा अलपत्र परेका नेपालीहरुलाई छिटोभन्दा छिटो ल्याउन सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रश्न गरेका थिए । सांसदहरुले अलपत्र व्यक्तिलाई ल्याउने सम्बन्धमा सरकारी निकायहरुबीच समन्वय हुन नसक्दा विदेशमा काम गर्ने श्रमिकहरुले दुःख पाइरहेको भन्दै प्रभावकारी काम गर्न निर्देशन दिनुपर्ने बताए । समितिले विदेशमा अलपत्र सबै नेपाली श्रमिकलाई एक महिनाभित्रै उद्धार गरी नेपाल ल्याइसक्ने व्यवस्था मिलाउन यादवलाई निर्देशन दिएको छ ।  

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया