अख्तियारमा जागिर खानकै लागि मात्र नआए हुन्छ : पूर्वआयुक्त उपाध्याय

 भदौ २९, २०७७ सोमबार १४:२१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताउनुभएको छ । 

पछिल्लो आठ/दश वर्षयता अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृत्ति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताउनुभएको छ । सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अख्तियारमा दक्ष मान्छेहरु नहुँदा आरोपपत्र सही ढङ्गले तयार नभएकाले साना मसिना केसहरुमा अख्तियार अल्झिएको हुन सक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले अख्तियार कस्तो देखिन्छ भने उदाहरणीय काम गरेको देखिँदैन । अलिकति सानातिना मसिना केसहरुमा लागेको देखिन्छ । स्टिङ अपरेशन भनेको छ, त्यसमा पनि २ हजार ३ हजार मान्छे समाति राखेको छ । हुन त केही मुद्दाहरु ठूला मुद्दाहरु पनि लागेको छ लाग्न त तर धेरै जसो त्यस्ता मुद्दाहरु छन् । अख्तियारको आरोपपत्र पनि दक्ष मान्छेहरुले तयार नपारेको देखिन्छ त्यसकारण त्यहाँ दक्ष मान्छेहरुको खाँचो परेको जस्तो देखिन्छ । ’

नेतृत्व चयन गर्दा नै होस पुर्‍याएर नगर्दाको परिणाम आठ/दश वर्षयता देखिएको बताउनुभयो । अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुने मान्छेको विगत कस्तो थियो, कुनै उदाहरणीय कार्य गरेको छ या छैन लगायतका विषयमा मूल्याङ्कन गरेर नियुक्त नगर्दा गलत परिणाम आउने गरेको उहाँले बताउनुभयो । विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने गरेको उहाँको भनाइ छ ।

‘पहिलो कुरा अख्तियारमा नियुक्ति गर्दाखेरि जसले नियुक्ति गर्ने हो त्यो मान्छेले होस पुर्‍याएर नियुक्ति गर्नुपर्‍याे । जसलाई नियुक्त गर्ने हो त्यसको ब्याकग्राउण्ड पेपर पूरा खानतलासी गर्नुपर्‍याे । त्यो मान्छेको कहाँ काम गरेको थियो कस्तो काम गरेको थियो, त्यसले कुन उदाहरणीय प्रस्तुत गरेको थियो विभिन्न ठाउँमा काम गरेको होला त्यस्तो मान्छे । त्यसको के विगत थियो जहाँ काम गरेको थियो त्यहाँका मान्छेहरुले त्यसको के मूल्याङ्कन गर्छन् सबै कुरा अध्ययन नगरिकन मान्छे नियुक्त गर्न हुँदैन । विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउँछ । ’

राजनीतिक नेतृत्वले अख्तियारको प्रमुख आयुक्त छान्ने भएकाले गलत मान्छे नियुक्त गरेमा त्यसबाट निस्कने परिणामको जिम्मेवारी पनि छान्ने व्यक्तिहरुले नै लिनुपर्ने उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसले नियुक्ति गर्ने हो ति व्यक्तिहरु देशका जिम्मेवार व्यक्तिहरु हुन् । हामीले छानेर पठाएका व्यक्तिहरु हुन् । एक जना प्रधानन्यायाधीश बाहेक अरु सबैलाई हामीले छानेरै पठाएको हो । जनताले नै छानेर त्यत्रो ठूलो पदमा पुगेका मान्छेहरुले नै नगरेपछि त अब कसको आशा गर्ने त्यसो भए । स्वयं प्रधानमन्त्री त्यसमा बस्नुहुन्छ । विपक्षी दलको नेता बस्नुहुन्छ संवैधानिक परिषदमा उहाँहरुले नै देशलाई निष्पक्ष राम्रो, गतिलो विगत भएको योग्यता पुगेको मान्छे र काम गर्न सक्ने मान्छेलाई छान्न सक्नुभएन भने अब सडकको मान्छेले त छान्ने होइन । त्यसकारणले जिम्मेवारी उहाँहरुले लिनुपर्छ ।’ 

अख्तियारमा जागिर खान मात्रै आउने व्यक्तिले कुनै पनि राम्रो नतिजा दिन नसक्ने उहाँले बताउनुभयो । अख्तियार प्रमुखसँग काम गर्ने अठोट र लक्ष्य भएमात्र सही नेतृत्व दिन सक्ने उपाध्यायको भनाइ छ । उहाँले कुनै पनि सही नेतृत्व अख्तियारमा आउन सके उदाहरणीय काम हुन जाने र अन्य आयुक्तहरुलाई पनि नियन्त्रणमा जान बाध्य पार्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले एउटा मिसन लिएर आउनुपर्‍याे । कुनै मान्छे अख्तियारमा जागिर खान्छु भन्ने विचारले आउँछ भने बरु नआए हुन्छ । त्यहाँ बदनाम भइन्छ, केही काम गर्न सकिँदैन, गरेको पनि मान्छेले रुचाउँदैन । आफूलाई खतरा पनि हुन्छ । तर केही गर्छु, देशका लागि मेरो मिसन छ, म जन्मेको यही देशमा हो, म नागरिक हुँ, मैले गर्दा धेरै काम हुन सक्छ भन्ने मिसन लिएर उद्देश्य लिएर त्यसप्रति प्रतिबद्ध छ भनेदेखि त्यस्तो मान्छे आउन पर्छ । जहाँसम्म मान्छे खोेज्ने कुरा हो । मान्छे खोज्दा पनि उसको पूरा विगत हेरेर मात्रै नियुक्त गर्नुपर्छ । आइसकेपछि त्यो व्यक्तिमा प्रतिबद्धता छ भने त्यसले नेतृत्व पनि दिन सक्छ । यद्यपि त्यसले मात्रै सबै कुरा निर्णय गर्ने होइन । तर नेतृत्व भनेको कुरा ठूलो कुरा हो । नेतृत्व दिन सके उदाहरणीय हुन जान्छ र अरु आयुक्तहरु पनि नियन्त्रणमा जान सक्छन् । ’ 

अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्तिहरु नै अख्तियारको कारबाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनु पर्ने लगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको स्पस्ट हुने उहाँले बताउनुभयो । राजनीतिक व्यक्तिले नियुक्त गरेपछि पनि स्वतन्त्र भएर काम गर्नुपर्ने ठाउँमा फेरि पनि व्यावहारिक रुपमा राजनीतिक व्यक्तिको हस्तक्षेप भइराखेको देखिएको उपाध्यायको भनाइ छ ।   

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया