रुसी विपक्षी नेता नाभाल्नी 'अस्पतालकाे बेड छाेडेर हिँडडुल गर्न सक्षम'

 भदौ २९, २०७७ सोमबार २१:१:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको जर्मनीकाे राजधानी बर्लिनमा रहेकाे अस्पतालले जनाएकाे  छ । अस्पतालका अनुसार नाभाल्नी शय्याबाट उठेर केही समय हिँड्नुभएकाे छ । 

अस्पतालले नाभाल्नीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन निकालेकाे विज्ञप्तिमा भनिएको छ, 'बिरामी (नाभाल्नी) लाई मेकानिकल भेन्टिलेसनबाट छुट्टाइएको छ । उहाँ अहिले हात गोडा चलाउने अभ्यास गर्न थाल्नुभएको छ । साथै सोमबार अस्पतालको शय्याबाट उठेर छोटो समय हिँडडुल गर्नुभएको छ ।'

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक मानिने नाभाल्नी चियामा रसायन मिसाएर दिएपछि बेहोस हुनुभएको उहाँका प्रवक्ता तथा पारिवारिक स्रोतले दाबी गर्दै आएको छ । नाभाल्नीलाई उपचारका लागि गएकाे अगस्ट २२ मा उपचारका लागि रुसबाट जर्मनी ल्याइएको थियो ।

जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व (नाेभिचाेक नर्भ एजेन्ट) मिसाएर दिइएको जनाएका छन् ।

एलेक्सी नाभाल्नीले गएको वर्षको जुलाईमा पनि आफूलाई कसैले विष दिएको हुन सक्ने बताउनुभएको थियो । उहाँलाई प्रहरी हिरासतमा राखिएको थियो र एक रहस्यमय एलर्जीको प्रतिक्रिया भएको बताइएको थियो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया