भारत–चीन तनाव : भारत जति ठूलाे कदम उठाउन पनि तयार छ, देशकाे शिर झुक्न दिँदैनाैँ : रक्षामन्त्री सिंह

 असोज १, २०७७ बिहिबार १४:१६:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतका रक्षामन्त्री राजनाथ सिंहले देशको हितमा जति ठूलो र कडा कदम उठाउन परे पनि भारत पछि नहट्ने बताउनुभएको छ । बिहीबार राज्यसभामा रक्षामन्त्री सिंहले पूर्वी लद्दाखमा चीनसँगको तनावलाई लिएर यस्तो बताउनुभएको हो । 

रक्षामन्त्री सिंहले भारतले आफ्नो शिर झुक्न नदिने र अरु कसैको शिर झुकाउन पनि नचाहेको बताउनुभएको छ । 

रक्षामन्त्री सिंहले भन्नुभयो, ‘भारत जस्तोसुकै कदम उठाउन तयार छ र सेना पनि तयारी अवस्थामा छ । हाम्रा सेनाको हौसला उन्नत छ । यो साँचो हो कि लद्दाखमा हामी एक चुनौतीको भोगिरहेका छौँ तर हामी त्यो चुनौतीको सामना गर्छौँ । हामी देशको शिर झुक्न दिँदैनौँ । हाम्रा सेना चिनियाँ सेनासँग आँखामा आँखा मिलाएर उभिएका छन् र सदनबाटै उनीहरुलाई यही हौसला बढाउने सन्देश दिनुपर्छ ।’

भारतले द्विपक्षीय सम्बन्धलाई विकसित गर्न सकिने र सीमा समस्याको समाधानका बारेमा छलफल गर्न सकिने मान्दै आएको सिंहले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी यी दुवै काम गर्न सक्छौँ । तर वास्तविक नियन्त्रण रेखा (एलएसी) मा शान्ति खल्बलिने कदमले द्विपक्षीय सम्बन्धमा असर पुग्नेछ । यो कुरा पनि दुई पक्षले राम्रोसँग बुझ्नुपर्छ ।’

रक्षामन्त्री सिंहले गएको १५ जुन २०२० मा गलवान उपत्यकामा चिनियाँ सेनासँगको सङ्घर्षमा ज्यान गुमाउने २० भारतीय जवानलाई याद गर्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘भारत र चीनको सीमाको प्रश्न अझै सुल्झिएको छैन । चीनले लद्दाखमा भारतको झण्डै ३८ हजार वर्ग किलोमिटर जमिन कब्जा गरेको छ । यसका साथै सन् १९६३ मा एक कथित सीमा सम्झौताअनुसार पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरको पाँच हजार आठ सय ८० वर्ग किलोमिटर भारतीय जमिन अवैध रुपमा चीनलाई सुम्पियो ।’ 

रक्षामन्त्री सिंहले चीनले अरुणाचल प्रदेशको सीमाको झण्डै ९० हजार वर्ग किलोमिटर भारतीय क्षेत्रलाई पनि आफ्नो बताउँदै आएको आरोप लगाउनुभएको छ । 

गएको १५ जुनमा दुई देशबीचको सङ्घर्षमा २० भारतीय सेनाको ज्यान गएपछि भारत र चीनबीचको तनाव बढिरहेको हो ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया