स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्र चलायमान बनाउन आग्रह

 असोज ३, २०७७ शनिबार ९:१३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग परिसङ्घले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको छ ।

परिसङ्घका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको टोलीले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डाक्टर युवराज खतिवडासँग भेटेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोना सङ्क्रमित नभएका जनशक्तिबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको हो ।

उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा सङ्क्रमण भेटिएमा कन्ट्याक ट्रेसिङका आधारमा कर्मचारी तथा कामदारको पीसीआर परीक्षण गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा परिसङ्घले जोड दिएको छ ।

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यलाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने र चौध दिनसम्मको क्वरेण्टीनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वरेण्टीनको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको परिसङ्घले जनाएको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा होटललाई आबद्ध गराएर उपचार तथा क्वरेण्टीन र आइसोलेशनका सेवा प्रदान गर्न निजी क्षेत्रलाई पनि दिनुपर्ने माग परिसङ्घको छ ।

मौद्रिक नीतिमा व्यवस्था भएका कतिपय व्यवस्था कार्यान्वयनमा नआएको तथा उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युत्को डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने बजेट मार्फत घोषणा गरिएकामा अहिलेसम्म कार्यान्वयनमा नआएको विषयमा परिसङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले परिसङ्घले उठाएका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र कतिपय विषय कार्यान्वयन तहमा छलफल रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया