प्याजको निर्यात नरोक्न भारतलाई औपचारिक आग्रह गरिने

अन्य खाद्य सामग्रीको अभाव नभएकाले ढुक्क हुन आग्रह

 असोज ३, २०७७ शनिबार ९:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले प्याजको निर्यात गर्न भारतसँग आग्रह गर्ने भएको छ ।

आयात नहुँदा प्याजको माग र मूल्य बढेपछि सरकारले भारतसँग प्याजको निर्यात गर्न आग्रह गर्न लागेको हो । चाडपर्व नजिकिन थालेकाले प्याजको निर्यात नरोक्न भारतसँग औपचारिक आग्रह गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बजारमा आज सुकेको प्याजको थोक मूल्य  किलोको १२० रुपैयाँ छ ।

खुद्रामा थोक मूल्यभन्दा दोब्बरमा किन्न उपभोक्ता बाध्य छन् । प्याजसँगै आलु र हरियो तरकारीको मूल्य पनि बढेको छ । लकडाउन, निषेधाज्ञासँगै पानी परिरहेकाले आलु प्याजसँगै हरियो तरकारीको आपूर्तिमा समस्या हुँदा भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

उपभोक्ता अधिकारकर्मीले भने बजारमा तरकारी नआएरभन्दा पनि आएका तरकारीको कालोबजारी हुँदा भाउ बढेको बताएका छन् । सरकारले प्याजको मूल्य केही बढे पनि कोभिड-१९ का कारण बजारमा खाद्य सामग्रीको आपूर्ति असहज नभएको दाबी गरेको छ ।

बजारमा हल्ला फैलिए जस्तो खाद्य सामग्रीको अभाव नभएकाले ढुक्क हुन सरकारले आग्रह समेत गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले अहिले सरकारी र निजी क्षेत्रसँग खाद्य सामग्रीको मौज्दात पर्याप्त रहेको जानकारी दिनुभयो । खाद्य पदार्थको उत्पादन नरोकिएको र विदेशबाट पनि सजिलै आयात भइरहेकोले समस्या नहुने उहाँको भनाइ छ ।

नजिकिएका चाड पर्व दशैं तिहारमा पनि खाद्य सामग्रीको अभाव नहुने उहाँको दाबी छ । उहाँले कहीँकतै कालोबजारी गरेको थाहा पाए तत्काल वाणिज्य विभाग वा नजिकैको प्रहरीमा खबर गर्न आग्रह गर्नु भएको छ  । सरकारी तथ्याङ्कअनुसार लकडाउन सुरु भएको चैत ११ गतेदेखि गएको भदौ ३१ गतेसम्मको १ सय ७७ दिनमा ९ लाख सात हजार ५ सय ६ मेट्रिक टन खाद्यान्न भित्रिएको छ ।

यो अवधिमा एक लाख ५५ हजार २ सय ४ टन दलहन, दुई लाख ४२ हजार ९ सय ३० टन तरकारी  र ८२ हजार १ सय ७१ टन फलफूल आयात भएको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया