संविधानले कसैलाई पनि विभेद गरेकाे छैन : प्रधानमन्त्री ओली

 असोज ३, २०७७ शनिबार १३:२९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले कसैलाई विभेद नगरेको बताउनुभएको छ ।

उहाँले संविधानले विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताका आधारमा संसोधन गरी अगाडि बढ्न सक्ने बताउनुभयो । संविधान दिवसका अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधान सबैलाई अटाउने संविधान रहेका भन्दै आशंका वा अस्पष्टता भए त्यसलाई हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले अब देशको विकासमा जुट्न पनि आग्रह गर्नुभएको छ । विकासको काम भइहाल्छ नि भनेर पन्छिने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले गरेका कामहरुलाई समीक्षा गर्दा उत्साहजनक रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, 'डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका उराठलाग्दो नभएर उत्साहजनक देखिएको छ ।'

अहिले देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेको र परीक्षणको दैनिक क्षमता २३ हजार ५ सयभन्दा धेरै रहेको समेत उहाँले बताउनुभयो । उहाँले महामारीको जोखिम कम हुनासाथ अर्थतन्त्र पुरानै लयमा फर्किने र ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएको पनि बताउनुभएको छ । 

यस्तै प्रधानमन्त्री ओलीले देशमा विकास निर्माणका काम तीव्र भएको र नागरिकको जीवन सुखमयतर्फ अघि बढे पनि केही व्यक्तिले सरकारको आलोचना मात्रै गरिरहेको पनि बताउनुभयो । लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउनुपर्ने तर हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र नभएको पनि उहाँले बताउनुभयो ।

उहाँले सञ्चारमाध्यम र बाैद्धिक जगतले पनि अनावश्यक आलोचना मात्रै गरिरहेको दुखेसो पाेख्नुभयो । ‘नियन्त्रित र कमजोर अवस्थामा पनि अग्रगामी आन्दोलनमा योगदान पुर्याउने सञ्चारमाध्यम र बाैद्धिक जगतले आज बाटो अलमलिन मिल्दैन । अझ स्पष्ट र सुदृढ योगदानको अपेक्षा नेपाली जनताले गरेको मैले पाएको छु’, प्रधानमन्त्रीले भन्नुभयो ।

काम हुँदै भएन र नेताहरुले नागरिकको गुनासा नसुनेको भन्ने गलत प्रचार भइरहेको भन्दै प्रधानमन्त्री ओलीले बाहिर हल्ला गरेजस्तो सरकार केही नगरि नबसेको बताउनुभयो । अब सबै प्रकारका संकिर्णता र आग्रह पूर्वाग्रह छोड्दै र विकास र उन्नतिको बाटोमा एकताबद्ध भएर अघि बढ्न पनि प्रधानमन्त्रीको आग्रह छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले यो सरकारलाई कुनै पनि हालतमा भ्रष्टाचार सैह्य नहुने पनि बताउनुभयाे ।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्णपाठ :

 

अन्तिम अपडेट: चैत ६, २०८०

1 Comments

  • हरिचन्द्र श्रेष्ठ

    Sept. 19, 2020, 2:42 p.m.

    ओली सरकारलाई एउटा चुनौती दिन चाहन्छु । यदि भ्रष्टाचार सह्या नहुने भए भ्रष्टाचारीलाई फाँसी दिने कानुन किन बनाउन सक्नुहुन्न ?

  •  0 Reply

तपाईको प्रतिक्रिया