किम जोङले दक्षिण कोरियासँग किन माफी मागे ?

 असोज ९, २०७७ शुक्रबार १३:३:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाका एक अधिकारीको मृत्युलाई लिएर माफी मागेका छन् ।  

किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग त्यो घटना नहुनुपर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीमा उल्लेख छ । 

घटनापछि उत्तर कोरियाले भनेको छ– ४७ वर्षीय एक व्यक्ति कथित रुपमा उत्तर कोरियालाई दोष  लगाउन खोजिरहेका थिए, जब ती व्यक्ति उत्तर कोरियाको नदीमा पौडिरहेको अवस्थामा सैनिकहरुले भेटेका थिए ।

दक्षिण कोरियाका अनुसार ती व्यक्तिमाथि गोली प्रहार गरियो र शवलाई जलाइयो । 

उत्तर र दक्षिण कोरियाबीचको सीमामा निकै कडा किसिमको सुरक्षा हुने गर्दछ । कोरोना भाइरसको महामारीका कारण बाहिरी देशबाट आउनेलाई रोक्न देख्नेबित्तिकै गोली प्रहार गर्ने आदेश दिइएको बताइएको छ । 

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका अनुसार किम जोङ उनले राष्ट्रपति मुनलाई एक पत्र लेखेर माफी मागेका हुन् ।  

किमले पत्रमा राष्ट्रपति मुन र दक्षिण कोरियाली नागरिकलाई निराश बनाउनु परेकोमा आफूलाई ‘निकै दुःख’ लागेको लेखेका छन् । 

उत्तर कोरियाली दक्षिण कोरियालाई यस घटना सम्बन्धमा गरिएका कैयौँ जाँचको निष्कर्ष पनि सुम्पिएको बीबीसीमा उल्लेख छ । 

‘ती व्यक्ति दक्षिण कोरियाबाट उत्तर कोरिया आएका थिए र आफ्नो पहिचान बताउन नमानी भाग्ने प्रयास गरेपछि उनीमाथि १० भन्दा धेरै पटक गोली चलाइएको हो’, पत्रमा भनिएको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया