सरकारले ३ दिनमा ४६ क्विन्टल प्याज बेच्यो, १ जनाले बढीमा ३ किलाेसम्म किन्न पाउने

 असोज १२, २०७७ सोमबार १४:२३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले तीन दिनमा ४६ क्विन्टल प्याज बिक्री गरेको छ । बजारमा जफत गरेको एक सय ४६ क्विन्टल प्याजमध्ये आइतबारसम्ममा ४६ क्विन्टल प्याज बिक्री गरेको खाद्य व्यवस्था तथा बजार व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो ।

कम्पनीले गएको शुक्रबारदेखि बजार अनुगमनका क्रममा जफत भएका प्याज बिक्री गरिरहेको हो । बजारमा एक सय ३० रुपैयाँभन्दा बढीमा प्याजको बिक्री भइरहेको छ । यो मूल्य पसलैपिच्छे फरक छ । किलोको एक सय ३० भन्दा कम मूल्यमा खुद्रा पसलमा प्याज पाइँदैन ।

सरकारले गएको हप्ता बल्खु तरकारी बजारमा अनुगमनका क्रममा जफत भएको प्याज किलोको ६० रुपैयाँमा बेचिरहेको छ । किलोको ६० रुपैयाँमा प्याज पाइने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपभोक्ताको लामो लाइन छ ।

कम्पनीले एक जनालाई बढीमा तीन किलोसम्म प्याज बिक्री गरिरहेको छ । प्याज किन्न पुग्ने उपभोक्ताले सामान्य स्वास्थ्य मापदण्डको पालनासमेत गरेका छैनन् । लाइन व्यवस्थित गराउन मुश्किल भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो । कम्पनी परिसरमा दुरी कायम गर्न सेतो घेरा बनाए पनि त्यो पालना नभएको उहाँले बताउनुभयो ।

काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफुल तथा तरकारी बजारमा सोमबार प्याज किलोको एक सय रुपैयाँ तोकिएको छ ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया