पुनर्कर्जाकाे लागि आवेदन दिने म्याद असोज ३० गतेसम्म थपियो

 असोज १३, २०७७ मंगलबार १२:५७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन दिने म्याद थपेको छ । यसअघि असोज १४ गतेसम्म पुनर्कर्जाको आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको राष्ट्र बैंकले लकडाउन र निषेधाज्ञाको कारण असोज ३० गतेसम्म म्याद थपिएको जनाएको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइ सकेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको हो । 

पुनर्कर्जा कोषमार्फत बैंक तथा वित्तीय संस्थाले कोरोना प्रभावित ऋणीसँग तीनदेखि पाँच प्रतिशतसम्म मात्रै ब्याजदर असुल्न पाउनेछन् ।  

लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा राष्ट्र बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई कर्जा दिन्छ, बैंक तथा वित्तीय संस्थाले ऋणीबाट बढीमा पाँच प्रतिशत मात्रै ब्याज लिन पाउँछन् । 

विशेष पुनर्कर्जामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक प्रतिशतमा कर्जा दिन्छ, बैंक तथा वित्तीय संस्थाले ऋणीबाट बढीमा तीन प्रतिशत मात्रै ब्याज लिन पाउँछन् ।

साधारण पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट तीन प्रतिशतमा कर्जा लिएर ऋणीसँग बढीमा पाँच प्रतिशत ब्याज लिन पाउँछन् । 

अन्तिम अपडेट: असोज १४, २०७७

तपाईको प्रतिक्रिया