‘त्रिभुवन विमानस्थल कवाडी खाना जस्तो हुँदैछ, ईयूको कालोसूची लम्बिन सक्छ’

 असोज १३, २०७७ मंगलबार १४:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कवाडी खाना बनाउने षड्यन्त्र भइरहेको दाबी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हिमालय एअरलाइन्सलाई भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) को जिम्मा दिने तयारी गरेपछि नेपाल वायु सेवा निगमले ठाउँको अभाव रहेको र थप वायु सेवा कम्पनीलाई भूमिस्थको सुविधा दिएमा  विमानस्थल कवाडी खाना जस्तो हुने दाबी गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हिमालय एअरलाइन्सलाई भूमिस्थको सुविधा दिने निर्णय गरेर फिर्ता लिएको प्रसङ्गलाई इङ्गित गर्दै निगमले त्यस्तो सुविधा दिएमा विमानस्थलमा सामान राख्ने ठाउँ नभएर कवाडी खाना जस्तो हुने जनाएको छ ।

निगमले विज्ञप्तिमार्फत भनेको छ, ‘निगमले भूमिस्थ सेवा प्रदान गर्ने तथा उपकरण राख्ने ठाउँको अभाव भएकोले कैयौँ पटक थप स्थान उपलब्ध गराइदिन क्यानलाई अनुरोध गर्दै आइरहेको छ । यस्तो स्थान अभावको अवस्थामा अर्को संस्था भूमिस्थ सेवा प्रदायक थपिँदा उसले प्रयोग गर्ने उपकरण र सामग्रीको व्यवस्थापन तथा भण्डारण गर्न पर्याप्त ठाउँ नभएका कारण भूमिस्थ सेवा प्रदान गर्ने स्थानमा सामानहरु यत्रतत्र छरिएर कवाडी खाना जस्तो हुने स्वतः सिद्ध छ ।

जसले गर्दा कार्यस्थलमा सुरक्षाको समस्या आउने हुँदा हवाई उडान सुरक्षामा पनि असर पर्ने देखिन्छ । यस्तो अवस्थामा कार्यस्थलको सुरक्षा संवेदनशीलतालाई लिएर युरोपियन युनियनको कालोसूचीको प्रतिबन्ध अवधि अझ लम्बिने र राष्ट्रले आफ्नै विमान सेवाबाट उच्च राजस्व आउने र प्रचुर सम्भावनाको युरोपियन देशको उडानबाट बञ्चित भइरहनु पर्नेछ ।’ 

विश्वका धेरैजसो विमानस्थलमा त्यही देशकै राष्ट्रिय ध्वजावाहकबाट नै भूमिस्थ सेवा सञ्चालन हुने गरेको उदाहरण दिँदै निगमले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा दिनको लागि उपकरण र जनशक्ति विकासमा अरबाैँ लगानी गरिसकेको दाबी गरेको छ । 

‘शत प्रतिशत सरकारी स्वामित्व रहेको निगमले चार दशकभन्दा अघिदेखि गर्दै आएको सेवाको अवमूल्यन गर्नुको साथै कोरोनाबाट आहत भएको अवस्थामा ठूलो राजस्व गुम्ने कार्यको सुरुवात गरी ६२ वर्षदेखि ग्रामीण र दुर्गम क्षेत्रका असहाय, बिरामी र सम्पूर्ण जनताको सेवा गरेको कार्यको समेत निर्ममताका साथ अवमूल्यन गर्ने कार्य भएको निगमले महसुस गरेको छ’, विज्ञप्तिमा उल्लेख छ । 

हिमालय एअरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णयलाई निगमले हरेक कोण र स्थितिबाट कुनै पनि हालतमा पुष्टि हुन नसक्ने ठानेको जनाएको छ । निमगले हिमालय एअरलाइन्सलाई भूमिस्थ सेवाको जिम्मेवारी दिने निर्णय खारेजीको माग गरेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया