यो बेला नाफा नखोजी टिक्नेतर्फ ध्यान दिनुहोस् : गभर्नर अधिकारी

 असोज १३, २०७७ मंगलबार १८:१७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गभर्नर महाप्रसाद अधिकारीले महामारीको यो समयमा बैंक तथा वित्तीय संस्था नाफामुखी नभइ टिक्नेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुसँगको भिडिओ अन्तर्क्रियामा गभर्नर अधिकारीले महामारीमा नाफाभन्दा पनि टिकाउ बन्नुपर्ने र सर्वसाधारणको सहजताको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन । आफ्नो व्यवसायलाई टिकाउनेतर्फ यहाँहरु केन्द्रित भइदिनुस् ।’

गभर्नर अधिकारीले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै नीतिको कार्यान्वयनमा सहयोग पुर्‍याउन बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गर्नुभयो । ​

कारोनाको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्वर्द्धनमा  टेवा पुग्ने गरी वित्तीय सेवा प्रदान गर्नसमेत गभर्नर अधिकारीले आग्रह गर्नुभयो । 
राष्ट्र बैंकले मर्जर/प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अब ई–कमर्सलाई प्रवर्द्धन गर्ने किसिमका वित्तीय सेवातर्फ  बैंकहरु केन्द्रित हुनुपर्छ ।’ 

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी, हिमालयन बैंक लिमिटेडका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंक लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष कुशकुमार माली लगायतले बैंक तथा वित्तीय क्षेत्रका समस्या र सुझाव राख्नुभएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया