चीनले भन्यो, ‘कोरोनाबाट बच्दै तातोपानी र रसुवागढी नाका खोल्न सक्नुहुन्छ’

 असोज १३, २०७७ मंगलबार १९:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तातोपानी र रसुवागढी नाका खुलाउन चीन तयार भएको छ । मङ्गलबार भएको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो भिडिओ बैठकमा कोरोना सङ्क्रमणबाट बच्न सुरक्षा मापदण्ड अपनाएर नाका खोल्न चीन तयार रहेको बैठकको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।

‘चिनियाँ पक्षले कोरोनाको जोखिमलाई धेरै महत्त्व दिएको पाइयाे, कोरोनाबाट बच्न पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नाका खोल्नेमा चीनको असहमति नरहेको उहाँहरुले बताउनुभयो । हामीले पनि मापदण्ड अपनाएर नाका खोल्छौँ भनेका छौँ’, सहसचिव दाहालले भन्नुभयो । 

बैठकमा दुई देशबीच व्यापार सहजीकरणको लागि रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह स्थापना गर्ने विषयमा कुराकानी भएको छ । एक सय ८८ प्रकारका वनस्पति, मासुजन्य र खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने विषयमा पनि छलफल भएको छ ।

यस्तै नेपालमा वनस्पति र पशुजन्य वस्तुको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने, चीन निकासी गर्ने खाद्यवस्तुमा लेबलिङ गर्ने, स्याफ्रुबेसी–रसुवा सडक मर्मत तथा स्तरोन्नतिको विषयमा पनि छलफल भएको छ । 

यस्तै नेपाल–चीन सीमा नजिक वारपार आर्थिक क्षेत्र स्थापनाको विषयमा पनि छलफल भएको छ । व्यापार पूर्वाधार विकास सहयोग अन्तर्गत नेपालले मुस्ताङको कोरलामा एकीकृत जाँच स्टेशन निर्माणको लागि चिनियाँ पक्षलाई अनुरोध गरेको छ । यस्तै ओलाङचुङगोला र किमाथाङ्कामा व्यापार पूर्वाधारको लागि संयुक्त रुपमा अध्ययन गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा चीनको तर्फबाट वाणिज्य मन्त्रालयको एसिया मामिलाका महानिर्देशक पेङ गाङले नेतृत्व गर्नुभएको थियो । 

यस्तै बैठकमा प्रस्ताव गरिएको एजेण्डामा दुवै देशले आपसी सहयोग र आत्मनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति पनि भएको छ । नेपालमा चिनियाँ लगानी विस्तारको बारेमा पनि बैठकमा छलफल भएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया