अमेरिकी राष्ट्रपतीय चुनाव : ट्रम्प र बाइडेनबीच चर्काचर्की

 असोज १४, २०७७ बुधबार १८:१४:२७ | रासस
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा आउँदाे नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनावका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ ।     

बहसमा राष्ट्रपतिका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा पूर्वउपराष्ट्रपति जोन बाइडेनका बीचमा आरोप–प्रत्यारोप भएको थियो । ट्रम्पको प्रस्तुति राम्रो नभएको र फितलो भएको धेरैले टिप्पणी गरेका छन् भने बाइडेनको प्रस्तुति भद्र र सकारात्मक भएको कतिपयको भनाइ छ ।         

बहस विशेष गरेर कोरोना भाइरस, देशको अर्थतन्त्र, रोजगारी, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति, अन्तर्राष्ट्रिय राजनीतिलगायतका विषयमा केन्द्रित भएको थियो । बहसलाई १५/१५ मिनेटको ६ भागमा प्रस्तुत गरिएको थियो ।    

राष्ट्रपति ट्रम्पले कर छलेको सम्बन्धी समाचार सार्वजनिक भएको र बाइडेनले आफ्नो कर विवरण सार्वजनिक गरेकै बेला बहस भएको हो ।     

पहिलेदेखि नै अमेरिकाका अत्यन्त धनी व्यवसायीमा गनिने ट्रम्पले सन् २०१६ मा सात सय ५० डलरमात्र आयकर तिरेको समाचारमा उल्लेख गरिएको छ । तर बहसका क्रममा राष्ट्रपति ट्रम्पले आफूले करोडौँ डलर कर तिरेको दाबी गर्नुभएको थियो ।     

नकारात्मक सूचना प्रवाह भइरहेका बेला भएको कार्यक्रममा ट्रम्प दबाबमा देखिनुभएको थियो । ट्रम्पलाई कर छलीसँगै कोरोना भाइरसबाट उत्पन्न महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको बारेमा उठाइएको प्रश्नमा उहाँले बढी दबाब महसुस गर्नुभएको देखिएको थियो ।     

उहाँले आफूलाई केही गर्न नसकेको र असफल राष्ट्रपतिको आरोप लागिरहेका बेला बाइडेनले पनि लामो समय विभिन्न जिम्मेवारी पाएर पनि केही गर्न नसकेको जवाफ दिनुभएको थियो ।   ट्रम्पले बाइडेनलाई जवाफ दिँदै दाबीका साथ भन्नुभयो, ‘मैले ४७ महिनामा तपाईँले ४७ वर्षमा गरेको भन्दा धेरै काम गरेको छु ।’  

उहाँले यो पहिलो बहसबाट दिन खोजेको मुख्य सन्देश नै यही थियो भन्ने देखिएको छ । उहाँको यही जवाफलाई ट्रम्प र उहाँका समर्थकहरुले बढी महत्त्व दिएर प्रचार गरेको र त्यही भिडियो क्लिप बढी शेयर गरिएकाले उहाँले यसैलाई स्थापित गर्न खोजेको जस्तो देखिएको हो ।     

‘अमेरिकीहरुले अहिले पनि धेरै समस्या झेलेका छन्, ती समस्या बाइडेनले झण्डै आधा शताब्दी सार्वजनिक जिम्मेवारी सम्हाल्दा देखिका हुन्, उहाँले त्यसलाई समाधान गर्न कुनै सफलता हासिल गरेको देखिएको छैन, त्योभन्दा बढी त मैले छोटो समयमा गरेको छु’, ट्रम्पको भनाइ छ।     

बहसका क्रममा ट्रम्पले आफ्नो ठाउँमा अहिले बाइडेन भएको भए अमेरिकामा अझ धेरै मानिसको मृत्यु भएको हुने दाबी गर्नुभयो । ​

बाइडेनले भने कोरोना भाइरसको महामारी नियन्त्रण गर्न ट्रम्पले कुनै योगदान गर्न नसकेको र अर्थतन्त्र सुधार तथा बचाउका लागि कुनै योजना नरहेको आरोप लगाउनुभयो ।     

उहाँले साना–ठूला कुनै पनि व्यवसायीहरुलाई राज्यले केही नगरेको र राज्य मुकदर्शक भएको टिप्पणी गर्नुभयो । ट्रम्पले मास्कको प्रयोगको विषयलाई पनि गलत रुपले प्रस्तुत गरेको बाइडेनले आरोप लगाउनुभएको थियो ।     

बहसमा बाइडेन निकै कम मात्रै बोल्नुभएको थियो भने धेरै समय ट्रम्पले लिनुभएको थियो । बाइडेनले बोलिरहेका बेलामा पनि ट्रम्पले पटक–पटक हस्तक्षेप गर्दै जवाफ दिने वा खण्डन गर्ने गर्नुभएको थियो ।     

राष्ट्रपति ट्रम्पले अमेरिकाले कोरोनाबाट मृत्यु भएकाहरुको तथ्याङ्क यथार्थ सार्वजनिक गरेको र भारत, रुस, चीनलगायतका देशहरुले घटाएर मात्रै विवरणहरु सार्वजनिक गरेको दाबी गर्नुभयो ।     

अमेरिकाले मास्क, पीपीई किटलगायतका सामग्रीका साथमा कोरोना भाइरसविरुद्ध लडिरहेको बताउँदै उहाँले केही समयमा खोप पनि वितरण गरिने बताउनुभयो । ट्रम्पका कतिपय दाबीलाई बाइडेनले हाँसेर हल्का बनाइदिने गर्नुभएको थियो ।

बहसमा ट्रम्प तनावमा जस्तो र बाइडेन सहज जस्तो देखिनुभएको थियो ।     

कोरोना भाइरसको त्रासका कारण बहस प्रसारण गरिएको स्टुडियोमा यस पटक निकै थोरै मानिसहरू मात्र सहभागी गराइएको थियो । बहस सुरु गर्नुअघि हात मिलाउने प्रचलन भए पनि यस पटक भने कोरोना भाइरसकै कारणले दुई प्रतिस्पर्धीले हात पनि मिलाउनुभएको थिएन ।        

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सँगै राखेर प्रत्यक्ष बहस गराउने प्रचलन लामो समयदेखि चल्दै आएको छ । टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई महत्त्वका साथ लिइन्छ भने यहाँको प्रस्तुतिकै आधारमा मतदाताले छनाेटको मानसिकता बनाउने गरेको विश्वास गरिन्छ ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया