मासिक ४ अर्ब आय गुमाउँदै नेपालकाे हवाई क्षेत्र, पहिलेकै अवस्थामा फर्किन २०२४ सम्म कुर्नुपर्ने

 असोज १५, २०७७ बिहीबार १६:२९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोभिड १९ का कारण नेपालको हवाई क्षेत्रमा ठूलो क्षति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

निजी क्षेत्रको मात्रै एक खर्ब लगानी रहेको हवाई क्षेत्रमा कोभिडका कारण मासिक चार अर्ब आय गुमाउनु परेको प्राधिकरणले बताएको हो । प्राधिकरणले मात्रै आर्थिक वर्ष २०७६/०७७ मा ४३ प्रतिशत आम्दानी गुमाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो ।

आन्तरिक उडानतर्फ यो वर्ष ३६ देखि ३८ प्रतिशत यात्रु सङ्ख्यामा कमी आउने उहाँले बताउनुभयो । नेपालमा मार्च २०२० मा ७३ प्रतिशत हवाई यात्रु घटेको उल्लेख गर्दै उहाँले २४ देखिको लकडाउन र निषेधाज्ञा अवधिमा शत प्रतिशत यात्रु कम भएको बताउनुभयो ।

कोभिडको प्रभावका बीच प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि उल्लेख काम गरेको उहाँले बताउनुभयो । विमानस्थलमा नयाँ प्रस्थान कक्ष निर्माण सम्पन्न भएर सञ्चालनमा आएको महानिर्देशक पोखरेलले बताउनुभयो । अहिले दुई वटा वाइडबडी बाहिर अटाउने मिल्ने गरी ठूलो पार्किङ क्षेत्र विस्तार गरेको, अन्तर्राष्ट्रिय यात्रु चेकिङ व्यवस्थित गरिएको र बुटिक एअरपोर्ट निर्माणको काम भइरहेकाे रहेको उहाँले बताउनुभयो । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) का अनुसार कोभिडको सबैभन्दा बढी प्रभाव एसिया प्रशान्त क्षेत्रमा परेको छ । आईकाओका अनुसार गएकाे वर्षको जनवरीदेखि अगस्ट  २०२० सम्म वायु सेवा कम्पनीहरुले ८६ प्रतिशत यात्रुबाट हुने आम्दानी गुमाएका छन् । सन् २०२० को अन्त्यसम्म अघिल्लो वर्षको तुलनामा ७० देखि ७४ प्रतिशत अन्तर्राष्ट्रिय यात्रु घट्ने अनुमान आईकाओले गरेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घले हवाई क्षेत्र कोभिड पूर्वको अवस्थामा फर्किन सन् २०२४ सम्म कुर्नुपर्ने अवस्था आएको बताएको छ ।

सरकारले कोरोनाका कारण हवाई क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न विभिन्न राहत प्याकेज दिएको छ । लकडाउन सुरु भएदेखि नियमित उडान सुरु भएको मितिले एक महिनासम्म विमान शुल्क, कोठा काउन्टर, पसल तथा ठाउँकाे बहालमा ७५ प्रतिशत छुट दिएको छ । यस्तै लकडाउन अवधिदेखि असोज १ पछिसम्म नवीकरण अवधि भएका वायु सेवा सञ्चालन प्रमाणपत्र र एअरवर्दिनेश प्रमाणपत्रमा ५० प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेको छ ।

विमानस्थललाई बुझाउन बाँकी शुल्क डिसेम्बरसम्म म्याद थप गर्ने, विमानस्थल शुल्क नियमावली २०६७ बमोजिम नियमित रुपमा बुझाउनुपर्ने विमानस्थल शुल्कहरु भुक्तानी गर्ने अवधि डिसेम्बरसम्म कायम गरिएको छ । यस्तै मौद्रिक नीतिमार्फत बैंकको साँवा र ब्याज एक वर्षसम्म बुझाउन नपर्ने र साँवा ब्याजको पुनर्तालिकीकरण र वायु सेवा कम्पनीलाई बैंकबाट रिफाइनान्सिङको व्यवस्था गरिएकाे छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया