नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने अस्ट्रेलियाली कम्पनीको प्रस्ताव

 असोज १६, २०७७ शुक्रबार १७:४८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डा – अस्ट्रेलियाकाे एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा जनाएको छ । अस्ट्रेलियाकाे फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैँ गर्ने प्रस्ताव ऊर्जा, जलस्राेत तथा सिँचाई मन्त्रालयमा पेस गरेको हो ।

त्यसबारे ऊर्जा मन्त्रालय र कम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठकसमेत भएको छ । कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालका लागि अस्ट्रेलियाली राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाइ भेटमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताउनुभयो ।

अस्ट्रेलियाली कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकाेमा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट गर्नुभयो । कम्पनीका अध्यक्ष एन्ड्रियु फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आउँदो अक्टोबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानुनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गर्नुभयो ।

तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ ।

फोर्टेस्क्यू मेटल ग्रुप अस्ट्रेलियाकाे १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो । ‘नेपालको जलविद्युतमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफै गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ’, मन्त्री पुनले भन्नुभयो, ‘उहाँहरु आउनु भएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौँ र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौँ ।’

मन्त्री पुनले अस्ट्रेलिया नेपालको असल र महत्त्वपूर्ण मित्र भएको चर्चा गर्दै नेपालको समग्र तथा जलविद्युत् क्षेत्रको विकासमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आउँदा दिनमा समेत सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभयो । 

अस्ट्रेलियाले नेपालमा पछिल्लो पटक एकीकृत नदी बेपसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत् आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा मन्त्री पुनले प्रशंसा गर्नुभयो । मन्त्री पुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै आउँदा दिनमा सम्हाल्ने जिम्मेवारीकाे सफलता कामना गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया