रसुवागढी जलविद्यु्त आयोजनाका भारत र चीनमा रोकिएका कामदार आउने बाटो खुल्यो

 असोज १९, २०७७ सोमबार ८:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लामो समयदेखि भारत र चीनमा रोकिएका रसुवागढी जलविद्युत् आयोजनाका व्यवस्थापक तथा कामदार आउने बाटो खुलेको छ ।

रसुवामा निर्माण भइरहेको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत चार जना भारतीय व्यवस्थापक र १३ जना चिनियाँ कामदारको विवरण उर्जा मन्त्रालयले स्वीकृत गरेसँगै उनीहरू आउने बाटो खुलेको हो । इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाका व्यवस्थापक आउन नपाउँदा काम ठप्प भएको थियो ।

इलेक्ट्रोमेकानिकल निर्माणको लागि आवश्यक पर्ने सामग्री आएको भए पनि व्यवस्थापक तथा कामदार नहुँदा काम अघि बढ्न सकेको थिएन । व्यवस्थापक आएपछि त्यसका लागि छुट्टै कामदार आउने छन् । समयमा नै विवरण स्वीकृत नहुँदा आयोजनाको इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणको काम ठप्प भएको आयोजना प्रमुख छवि गैरेले बताउनुभयो ।

आयोजनामा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका कामदार नहुँदा गएको चैत ८ गतेदेखि निर्माण कार्य ठप्प भएको हो । आयोजनाका अनुसार इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाले गएको चैत ८ गतेदेखि नै काम रोकेको थियो । नेपालमा भन्दा पहिले भारतमा लकडाउन भएको र नेपालमा पनि हुने सम्भावना रहेपछि भारतीय टोली चैत ८ गते नै आफ्नो देश फर्किएको थियो ।

अहिले भोइठ हाइड्रो इन्डियाले ३२ जना भारतीय र ३८ जना नेपालीको सूची आयोजनालाई बुझाएको छ । आयोजनाले गएको साउन अन्तिममा भारतीय चार जनाको सूची ऊर्जा मन्त्रालयमा पठाएको थियो । आयोजनामा अहिले सिभिलतर्फ ३ सय ७९ नेपाली र ८८ जना चिनियाँ कामदार रहेका छन् ।

लकडाउनको समयमा पनि आयोजनामा ७ सय नेपाली र १ सय ७६ चिनियाँ कामदार रहेका थिए । २०७० साल माघदेखि निर्माण भएको आयोजनाको झण्डै ७८ प्रतिशत काम सकिएको छ ।


 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया