तीन महिनापछि खुल्यो मार्तडी–काेल्टी सडक

 असोज २५, २०७७ आइतबार १३:२५:५४ | निमेन्द्र शाही
unn.prixa.net

मार्तडीदेखि कोल्टी जान लागेका मालवाहक ट्र्याक्टरहरु, तस्बिर : निमेन्द्र शाही

बाजुरा – मनसुन सुरु भएसँगै तीन महिनादेखि बन्द मार्तडी–कोल्टी सडक आइतबारदेखि सञ्चालनमा आएको छ । असारको पहिलो हप्तादेखि बन्द भएको सडक सञ्चालन नहुँदा हुम्ला, मुगु र बाजुराका पूर्वाेत्तर क्षेत्रका नागरिकले सास्ती व्यहोर्नुपरेको थियो ।

‘मार्तडी–कोल्टी सडक अन्र्तगत कोल्टीबाट बडीमालिका नगरपालिका ७ को ढम्कनेसम्मको सडक मर्मत भएपछि आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो । अब दशैँमा घर आउनेहरुका लागि सहज भएको छ’, बडीमालिका नगरपालिका ७ का वडाध्यक्ष धर्मराज पाध्यायले भन्नुभयो । 

‘२२ वर्ष पुरानो सडक अहिलेसम्म पक्की नहुँदा यहाँका नागरिकले वर्षभरि नै सेवा लिन पाएका छैनौँ, हिउँदमा हिउँ परेर बाटो बन्द हुन्छ, वर्षायाममा पहिरो खसेर तथा हिलो भएर सडक बन्द हुन्छ, कच्ची सडकमा गाडी गुडाउँदा गाडी बिग्रेर हैरान भयन्छ । बाटो बनाउँदा कसैले ध्यान दिने होइन, सेवा दिनेलाई पनि हैरान भएको छ’, स्वामीकार्तिक मानसरोवर यातायात प्रालीका अध्यक्ष शंकर मल्लले बताउनुभयो । 

सदरमुकाम मार्तडीदेखी कोल्टीसम्मको जम्मा ४० किलोमिटर सडकको बीचमा पर्ने चार वटा खोलामा पुल बनाउनका लागि अहिलेसम्म कुनै सुरसार नभएको स्थानीय बताउँछन् । 

‘गाडी दिनमा चार ठाउँमा खोलामा हाल्नुपर्ने बाध्यता छ । गाडी बिग्रेर हैरान हुन्छ, गाडीले कमाएको रकमले गाडी बनाउँदै ठिक छ । घर चलाउन र बैंकको ब्याज कसरी तिर्ने हैरान भएको छ’, बुढीनन्दा नगरपालिका ९ का नवराज सिंहले भन्नुभयो । 

सडक मर्मत गर्नको लागि ठूलो सकस हुने गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘पछिल्लो समय कोल्टी–मार्तडी सडक खोल्नका लागि पहल गरियो, अहिले गाडी नियमित सञ्चालनमा आएका छन्, पानी नपरुञ्जेलसम्म सडक सञ्चालन हुने गरेको छ । साना सवारी साधन र दशैँमा आवश्यक पर्ने दैनिक उपभोग्य सामानहरु समयमा जाने भएको छ ।’

नजिकिँदै गरेको दशैँ, तिहारका सम्बन्धमा भाडा निर्धारण गरिएको र त्यसको कार्यान्वयनका लागि प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया