ललितपुरमा पुनर्निर्माण : जग्गा विवादका कारण ३ हजारभन्दा धेरै भूकम्प पीडितसँग सम्झौता हुनै बाँकी

 असोज २६, २०७७ सोमबार १९:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर जिल्लामा अहिलेसम्म झण्डै ४१ प्रतिशत लाभग्राहीले मात्रै घर बनाएका छन् । घर बनाइ सकेर उनीहरुले तेस्रो किस्ताबापतको एक लाख रुपैयाँसहित तीन लाख रुपैयाँ बुझेका छन् ।

पुनर्निर्माणका लागि आवेदन दिएकामध्ये ११ हजार आठ सय ४३ जना अर्थात् ४१ दशमलव २ प्रतिशतले मात्रै घर बनाइ सकेर तेस्रो किस्ताबावापतको रकम बुझेका हुन् । ललितपुरमा घर पुनर्निर्माणका लागि सम्झौता गरेका २५ हजार चार सय ११ जना लाभग्राहीमध्ये २५ हजार तीन सय ६१ जना लाभग्राहीले पहिलो किस्ता र १२ हजार सात सय ६० जनाले दोस्रो किस्ताबापतको रकम बुझेका छन् । 

आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा पुनर्निर्माणका लागि ललितपुरका लाभग्राहीले एक अर्ब ५७ करोड ५९ लाख रुपैयाँ बुझेकाे जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) का प्रमुख शिवलाल गेलालले बताउनुभएको छ ।

ललितपुरमा पुनर्निर्माणका लागि २८ हजार आठ सय दुई जनाले आवेदन दिएका थिए । ललितपुरका तीन हजारभन्दा धेरै लाभग्राहीसँग अझै पुनर्निर्माणसम्बन्धी सम्झौता हुन बाँकी छ । दाजुभाइको झगडा, अंशबन्डा, जग्गा कम हुनु लगायतका कारणले केहीको अझै सम्झौता हुन बाँकी रहेको जिमालीका प्रमुख गेलालको भनाइ छ ।

यस्तै प्रमुख गेललालका अनुसार यदि भूमिहीन नै हो भने पुनर्निर्माण प्राधिकरणले थप दुई लाख रुपैयाँसम्म जग्गा किन्नका लागि दिने व्यवस्था गरेको बताउनुभएको छ । पहिलेदेखि नै सार्वजनिक जग्गामा बसोबास गरिरहेको व्यक्तिहरुका लागि त्यही ठाउँमा बसोबास गर्न दिने तर पालिकाको सिफारिस भने चाहिने उहाँको भनाइ छ । गोदावरीलगायत केही ठाउँमा त्यस्ता व्यक्तिले घर बनाएर बसिसकेका पनि उहाँको भनाइ छ । 

घर बनाउन नसक्नुका पछाडि पहिलो कारण आर्थिक समस्या रहेको ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल बताउनुहुन्छ । सरकारले दिने तीन लाख रुपैयाँले घर बनाउन सकिने अवस्था नरहेको र जग्गाको समस्याले पनि लाभग्राहीले घर बनाउन नसकिरहेका उपमेयर सत्यालको भनाइ छ ।

उज्यालोसँग कुरा गर्दै उहाँले गुठीको जग्गामा नक्सा पास नहुने, बहु स्वामित्व भएका जग्गामा जग्गाधनीको निधनपछि नामसारी हुन नसक्नु लगायत कारण निजी घर पुनर्निर्माणमा समस्या भइरहेको बताउनुभयो ।

ललितपुर महानगरपालिकामा अहिलेसम्म ६ हजार तीन सय ९७ जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ बुझेका छन् । त्यसमध्ये दोस्रो किस्ता लिनेहरु एक हजार पाँच सय ६४ जना र तेस्रो किस्ता लिनेहरु एक हजार एक सय १२ जना मात्रै रहेका छन् । यो तथ्याङ्कले पहिलो किस्ता लिएर पनि अझै पाँच हजार दुई सय ८५ जनाले घर पुनर्निर्माण सम्पन्न गरिसकेका छैनन् भन्ने देखाएको उपमेयर सत्यालले बताउनुभयो । 

घर पुनर्निर्माणका लागि सम्झौताका क्रममा केही झन्झटहरु झेल्नुपरेको भनेर सुरुका दिनहरुमा लाभग्राहीले गुनासो गर्ने गरेका थिए । कतिपयले लाभग्राहीको सूचीमा पर्नुपर्ने व्यक्तिको नाम नपरेको तर पहुँच भएकाको नाम सूचीमा परेको भनेर विरोध पनि जनाएका थिए । तर अहिले पुनर्निर्माणमा पारदर्शिताको अवस्था सन्तोषजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले बताउनुभएको छ ।

केही व्यक्ति विशेष स्वार्थका कामहरु भएको थाहा पाउनासाथ पालिकाहरुले यो विषयमा ध्यान पुर्‍याइरहेकाे भन्दै उहाँले उनीहरुले सम्बन्धित ठाउँमा गुनासो गरिसकेपछि त्यसमा आवश्यक सुधारहरु भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया