सोलु करिडोरको काम अघि बढ्ने, ऐलानी जग्गाको मुआब्जा दिने सहमति

 असोज २८, २०७७ बुधबार १३:३८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लामो समयदेखि काम अघि बढ्न नसेकेको सोल करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । 

उदयपुरको कटारी नगरपालिका ४ काे मरुवामा रहेकाे हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको थियो । ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तको पहलमा आयोजना निर्माणको अवरोध हटेको हो । ​

स्थानीयबाट प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित ठाउँभन्दा अन्यत्रै सार्नुपर्ने लगायत सर्त राखेर काममा अवरोध हुँदै आएको थियो । 

मन्त्री पुनले मङ्गलबार त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी ४ का वडाध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमसँग मन्त्रालयमा छलफल गरी समस्या समाधान गर्नुभएको हो । मन्त्री पुनले स्थानीयको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सांसद राई, नगर प्रमुख श्रेष्ठ र वडाध्यक्ष दनुवारले आयोजना निर्माणको अवरोध अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो । 

मन्त्री पुनले सरकार नागरिकका जायज माग सम्बोधन गरेरै विकास आयोजनाका काम गर्ने पक्षमा रहेको स्पष्ट गर्दै विकासका काममा कसैले पनि अवरोध गर्न नहुने बताउनुभयो । नागरिकसँग सबैभन्दा नजिकको सरकारका रुपमा रहेको पालिका र जनप्रतिनिधिले महत्त्वपूर्ण र जिम्मेवार भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री पुनले लामो समयदेखि अड्किएको प्रसारण लाइन निर्माणको कामले गति लिने भएपछि आफूलाई सन्तोष मिलेको बताउनुभयो ।

‘आयोजनाको काम अगाडि बढाउने लामो समयदेखिको मेरो प्रयास अहिले आएर सार्थक भएको छ, मलाई यसमा सन्तोष छ’, मन्त्री पुनले भन्नुभयो । 

सांसद राईले स्थानीयका समस्या करिब–करिब समाधान भएको बताउनुभयो । ‘ऐलानीको मुआब्जा दिने गरी अवरोध हटाउने सहमति भएको छ’, सांसद राईले भन्नुभयो, ‘मन्त्रीज्यूले आयोजना प्रमुखलाई आँखा चिम्लिएर नागरिककाे माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ, हामी जनप्रतिनिधि पनि स्थानीय प्रशासन, आयोजना र मर्कामा परेका जनताका बीचमा समन्वय गरेर कामको अवरोध हटाउने काममा लाग्छौँ ।’ 

नगर प्रमुख श्रेष्ठले स्थानीयका माग सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रीबाट आएको उल्लेख गर्नुभयो । ‘मन्त्रीज्यूसँग कुराकानी भयो । हामीले स्थानीयका तर्फबाट उठेका मागबारे मन्त्रीज्यूलाई अवगत गरायौँ’, श्रेष्ठले भन्नुभयो, ‘हामी यहाँ (काठमाण्डौ) बाट फर्किएपछि स्थानीयसँग छलफल गरेर निकास दिने भन्ने भएको छ ।’

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा २०७६ माघ २० देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्राे पावरको २३ मेगावाटमध्ये ४ दशमलव ५ मेगावाट बाहेक सबै बिजुली खेर गइरहेको छ । प्रसारण लाइन जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमार्फत ग्राहकका घरघरमा पुर्‍याउने  पूर्वाधार हो । 

सिरहाको मिर्चैयादेखि उदयपुरको जलजले, खोटाङको बुइपा र ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । जसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख गौतमले बताउनुभयो । गौतमका अनुसार कुल तीन सय दुई वटा टावरमध्ये दुई सय ८८ वटाको निर्माण सम्पन्न भइसकेको छ । 

कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) तान्ने कामसमेत सकिएको छ । मरुवा बाहेक चार अन्य वटा टावर निर्माणको काम भइरहेकाे रहेको र दशैँअघि नै सकिने आयोजनाले जनाएको छ । 

प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट अहिले उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलेखुम्बु, ओखलढुङ्गा‍ र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन तीन सय २५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ । 

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । योजनाअनुसार काम भएको भए २०७६ माघ दोस्राे हप्ता प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको हुने थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया