विश्व हात धुने दिवस : साबुनपानीले हात धुने बानीले सङ्क्रामक राेगकाे जोखिम घटाउने

 असोज २९, २०७७ बिहीबार ९:१९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । कोरोना भाइरसको सङ्क्रमण हुन नदिन साबुन पानीले मिचिमिची हात धुन आवश्यक रहेको संदेशसहित दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणसँगै अरु सरुवा रोग हातको फोहोरले सबैभन्दा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित रुपमा सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै घर बस्दा या अफिस तथा भीडभाडमा पुगेपछि बेलाबेला साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, खाना खानु, खुवाउनु तथा बनाउनु र दिनुअघि साबुन पानीले हात धुन जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

विभिन्न अध्ययनले देखाएअनुसार सरुवा रोगका किटाणुहरु फैलनबाट रोकथाम गर्ने सबैभन्दा उत्तम उपाय नै साबुन पानीले हात धुनु हो । साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धोएमा झाडापखाला, श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमणमा कमी ल्याउन सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सुरक्षित खानेपानी, सरसफाई र स्वच्छताको अभावमा ५ वर्षमुनिका झण्डै १५ लाख बालबालिकाको झाडापखाला र निमोनियाका कारण ज्यान गइरहेको छ ।

नेपाल स्वास्थ्य जनसांख्यिकीय सर्वेक्षण २०१६ ले नेपालका ग्रामिण क्षेत्रमा झण्डै ७५ प्रतिशत र सहरी क्षेत्रमा झण्डै ८५ प्रतिशत घरमा साबुन पानीले हात धुने ठाउँ रहेको पाइन्छ । तर हात कतिले धुने गरेका छन् भन्ने अध्ययन भएको छैन । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको बताउनुभएको छ ।

‘विश्व हात धुने दिवस’ का अवसरमा सन्देश दिँदै उहाँले सरसफाइ गुरुयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइसम्बन्धी संवैधानिक व्यवस्थाले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिक स्थललगायतका ठाउँमा साबुनपानीले हात धुने सुविधा, नयाँ प्रविधिको विकास र विस्तारमार्फत् हातको स्वच्छतासम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पनि आह्वान गर्नुभएको छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया